एसियाली खेलकुदको तयारी बैशाख ११ गतेदेखि

डिसी नेपाल
२९ चैत २०७९ २२:२९
88
Shares

काठमाडौं। चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने जानकारी गराएको हो। राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो चरणको प्रशिक्षणमा ४ सय २५ खेलाडी सहभागी हुने जानकारी दिए।

२ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।

अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुनेछ। प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ। यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले बताए।

उनले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी दिए।

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन्।

एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *