खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

डिसी नेपाल
१० वैशाख २०८० १२:४८
180
Shares

काठमाडौँ। खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ। कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो।

क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ। निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, सङ्घसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ।

सो कम्पनीलाई ऋण दिएका व्यक्ति तथा संस्थालाई आफ्नो ऋण दाबी पेस गर्न लिक्विडेटरको कार्यालय यसअघि नै सूचना जारी गरिसकेको छ। क्रिष्टल फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०५८ फागुन ८ गते ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत पाएको थियो।

वित्तीय अवस्था बिग्रिएपछि यो कम्पनीलाई राष्ट्र बैंकले विसं २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो। उच्च अदालत पाटनको विसं २०७२ कात्तिक २० गतेको फैसलाअनुसार राष्ट्र बैंकले २०७७ भदौमा यो कम्पनीको लाइसेन्स खारेज गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *