तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

डिसी नेपाल
१३ भदौ २०८३ २१:५९

दमौली (तनहुँ)। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ। आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो।

फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उनले बताए। उनले भने, “उद्धार टोली जान नसक्ने स्थानमा ड्रोनबाट हेर्ने काम सुरु गरेका छौँ। यसले शव खोज्न सहज हुनेछ।”

आज चार वटा शव फेलापरेसँगै तनहुँको त्रिशूली नदीबाट ३५ वटा शव निकालिएको छ। त्यसमध्ये ११ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २४ वटा शव पोखरा पठाइएको छ।

प्रदेश अस्पताल दमौलीमा राखिएका शवको फोटो खिचेर क्युआर कोडबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। यसले मृतकका आफन्तलाई शवको पहिचान गर्न सजिलो हुने प्रजिअ तिवारीले बताउनुभयो। आइतबार शव व्यवस्थापन जिल्ला समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गरिएको छ। प्रदेश अस्पताल दमौलीमा राखिएको शवको डिएन परीक्षणकोसमेत तयारी गरिएको प्रजिअ तिवारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *