इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

डिसी नेपाल
१७ वैशाख २०८० ११:५७
112
Shares

मंगलबारे। यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन्। तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन्।

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो। टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो। चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए।

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ। इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो। एकजना अमेरिकी नागरिकले प्रतिकेजी रु १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन्। अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया रु ५० हजारमा खरिद गरेका हुन्।

सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी रु एक हजार मूल्य तोकेका थिए। उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्‍याएका थिए।

‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी रु हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी रु ४ हजारका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए। व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हुने गरेको छ। नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्नु परिरहेको किसानहरुको गुनासो छ। किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *