कालीकोटमा बलात्कार आरोपीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण

डिसी नेपाल
२५ वैशाख २०८० २०:०६
996
Shares

मान्म। कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन्।

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते भएका छन्। सो घट्नामा परी स्थानीय धनमान विकसमेत घाइते भएका छन्।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए। आरोपित बुढालाई सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्।

आक्रमणपछि आरोपित बुढा फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताए। बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो।

पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। तर घटनापछि बुढा भने फरार थिए। घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता–६ सैन पुगेको थियो।

घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *