नेपाल बने पो हामी नेपाली बन्छौं

कपिल लोहनी
२० जेठ २०८० ७:२७

देवेन्द्र आज ज्यादै नै निराश छ। कारण विवादास्पद नागरिकताको विधेयक हालैको आमनिर्वाचनबाट बनेको संसदलाई छलेर मन्त्रिपरिषद्मार्फत सिधै राष्ट्रप्रमुख कहाँ पठाएर प्रमाणीकरण भएकोमा।

वर्षौंदेखि विभिन्न कारणवश नागरिकताबाट वञ्चित भएका लाखौँ युवाहरूले नागरिकता प्राप्त गर्न अब सहज हुने तथा सार्क क्षेत्रबाट परका विदेशमा रहेका नेपाली, जसका बाबुआमा वा बाजेबज्यैको नेपाली नागरिकता छ, उनले गैरआवासीय नेपाली नागरिकता पाउने जस्ता राम्रा कुरा भएको भएता पनि यस्ता विधेयक प्रमाणीकरण गर्नु पुर्व संसदमा छलफल हुनुपर्ने र आमजनतालाई पनि सुसूचित गराउनु पर्ने देवेन्द्रको भनाइ रहेछ।

उसलाई केमा पनि आश्चर्य लागेको छ भने सरकारले केही समय अघिसम्म विदेशी बुहारी र ज्वाईँले पनि बिहे लगत्तै विदेशको नागरिकता त्यागेको प्रमाणसहित नेपाली नागरिकता पाएर आम नेपालीले पाएका सबै सुविधा र सम्पूर्ण संबैधानिक पदहरू धारण गर्न पाउने भन्ने विवादास्पद प्रावधान बारे हालको प्रमाणीकरण मौन रहेकोले त्यस्ता कुरा पनि आमजनतालाई किन जानकारी गराउँदैनन्।

त्यसरी सहज ढङ्गले बुहारी र ज्वाइँले नागरिकता पाउने हो भने खासगरी नेपालका दुबै छिमेकी राष्ट्रका नागरिक बुहारी र ज्वाइँले नेपालको नागरिकता पाएर तत्काल शासकीय भूमिका खेल्न सक्ने हैसियतमा पुग्ने छन् भने यहाँका रैथाने जनता झन् झन् ओझेलमा पर्दै जानेछन्।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण अघि हतार हतार यस्ता कदम चाल्नु पर्ने वाध्यता किन पर्न गयो होला भनेर देवेन्द्र अचम्मित भएको छ। देवेन्द्रले यो बारेको समाचार पढ्ने वित्तिकै अन्य देशमा आप्रवासी र आफ्ना नागरिकसँग बिहे गरेकाका लागि नागरिकता सम्बन्धि के कस्तो व्यवस्था रहेछ भनेर इन्टरनेटमा पसेर अध्ययन गर्न थाल्यो।

हामी नेपाली भने आफ्नै लाचारी र गैरजिम्मेवारीले गर्दा पछि परेका छौँ। ३ करोड जनसंख्या भएको हाम्रो मुलुकको अस्तित्व समाप्त हुँदैन भन्ने सोच माथि समेत आजको परिस्थितिले शंका उत्पन्न गराउन बाध्य बनाएको छ।

नेपालमा जस्तो ज्यादै सहज रूपमा नागरिकता पाउने व्यवस्था तथा छिटो छिटो यस्ता गौढ कुराका नियमहरू परिवर्तन हुने परिपाटी विश्वको कुनै पनि मुलुकमा रहेनछन् भन्ने कुरा उसको अध्ययनले बतायो।

स्वयम् अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा पनि आप्रवासीले शुरुमा ग्रिन कार्डको निम्ति आवेदन दिनु पर्दो रहेछ र सो प्राप्त गरेर निकै समय त्यहाँ बसेपछि मात्र नागरिकताको निम्ति आवेदन दिन पाउँदो रहेछ।

त्यसरी नागरिक भइसकेपछि उसले मतदान गर्ने अधिकार पाए तापनि उच्च संवैधानिक पद जस्तै राष्ट्रपति बन्ने सपना नदेखे पनि हुँदो रहेछ। तर उसको त्यहीँ जन्मेको सन्तानले भने अमेरिकी नागरिक सरह सबै सुख सुविधा पाउने रहेछ।

यो कुरालाई अझ विस्तृत रूपमा बुझ्न उसले आफ्नो साथि रामसँग अमेरिकामा सम्पर्क गरेछ। रामले ‘हेर् देवेन्द्र, अमरिकी पूर्व परराष्ट्रमन्त्री डा. हेनरी किसिन्जर पहिलोे पुस्ताको अमेरिकी नागरिक भएकै कारण त्यत्रो बुद्धि, विवेक र क्षमता भएर पनि राष्ट्रपति बन्ने अवसरबाट वन्चित भए।

नागरिकता जस्तो अति नै सम्वेदनशील विषयलाई तोडमोड गरेर जो कोहीलाई पनि नागरिकता बाँड्न सक्ने मुलुक त नेपाल मात्र हो। नेपालीले भुटानी शरणार्थी बनाएर आफ्नै नागरिकलाई विदेशमा बेचेकोले आज हामी विदेशमा बस्ने नेपाली समेत शङ्काको घेरामा परेका छौँ र हाम्रो इज्जत केही बाँकी छैन।

यस्तो अवस्थामा नेपालमा नै बस्ने तिमी नेपालीहरूको इज्जत त अब माटोमा नै मिलिसक्यो भने त्यस माथि त्यस्तो सङ्गीन मुद्दा पनि बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ।

हो हामी जस्ता विदेशमा बस्ने नेपालीहरूले पनि नेपाली नागरिकता पाउने र चुनावमा समेत मतदान गर्न पाउने प्रावधानले गर्दा भने हामीलाई जहाँ बसे पनि हामी पहिला नेपाली हौँ भन्ने भावना जागेर खुशी लागेको छ।’ भनेछ। यो कुरा सुनेर देवेन्द्र झनै विचलित र केही संयमित पनि हुन पुग्यो।

दक्षिणी छिमेकी मुलुक भारतको नागरिकता प्राप्त गर्ने प्रावधान पनि उसले पढेछ। त्यहाँ पनि बिहे गरेर गएपछि वा भारतमा कम्तीमा १२ वर्ष बसोवास गरेपछि र आफ्नो पहिलेको मुलुकको नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र त्यहाँको नागरिकताको निम्ति आवेदन दिन पाइने रहेछ।

कैयन् मुलुकमा त यो भन्दा पनि जटिल बाधाहरू पार गरेर निकै समयको कुराई पछि मात्र नागरिकता प्राप्त गर्न सकिँदो रहेछ। त्यसैले देबेन्द्रलाई ताज्जुप लाग्ने कुरा नै के हो भने अरु मुलुकले यसरी कडाई गरेको यो गौढ विषयमा हाम्रा नेताहरू ठोस छलफल नै नगरी, आमजनतालाई अध्ययन गर्ने मौकै नदिइ किन यसरी नरम भएर हतारमा निर्णय लिन्छन्।

पहिले जस्तो आमसञ्चारका अधिकांश माध्यम पनि आजकल किन मौन धारण गरेर बसेका छन् कतै मुखमा बुजो ठोकेको जसरी। के स्वार्थ लुकेको छ यसमा?

आफूले आज क्षणिक समयको निम्ति शासन सत्ता बचाएर राख्ने निहुमा विभिन्न समुदाय र राष्ट्रलाई खुशी पार्न यस्तो समाज र राष्ट्रघाती कदम चालेर आउँदा पिँढीलाई अल्पसंख्यक बनाउने हक यी नेताहरूलाई कसले दियो? देवेन्द्रले केही पनि बुझ्न सकेको छैन।

पहिले पहिले कुनै पार्टीले राष्ट्रघात वा भ्रष्टाचारको बाटो समायो भने अन्य पार्टी एक भएर त्यसको प्रतिवाद गर्दथे तर हाल आएर त गठबन्धनको सरकार बनाउने भन्दै गठवन्धनका सबै पार्टी मिलेर नै देशमा तानाशाही लाद्ने र मुलुकलाई टाट पार्ने देखि लिएर देशै बेच्ने मेलोमा पनि एक भएर लाग्न थालेका रहेछन्।

बाँडी चुँडी खाने कुरामा सबै सांसद एक हुन्छन्। यसपालीको वजेटमा पनि सांसदहरूलाई सहज ढङ्गले भ्रष्टाचार गर्ने बाटो खुलाउँदै हरेकलाई ५ करोडको स्थानीय विकास वजेट छुट्टाइएको छ।

महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र समेतका राजाहरूले राष्ट्रलाई नै थाती राखेर कहिल्यै शासन गर्ने चेष्टा गरेनन्। बरु वीरेन्द्रको राष्ट्रवाद प्रतिको अडानले गर्दा नै नेपालमा सजिलै बहुदलीय प्रजातन्त्रको पुनर्वहाली भयो र पछि उनको ज्यान समेत गयो भने ज्ञानेन्द्रले विदेशीसँग झुक्नु भन्दा जनतासँग झुक्न राजी भएर राजगद्दी गुमाउन समेत बााध्य भए।

टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, कीर्तिनिधी विष्ट, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी आदि जस्ता राजनेता पनि यही धर्तीमा जन्मे र राष्ट्रघातको त कुरै छोडौँ, कहिल्यै भ्रष्टाचार गरेर अकुत धन कमाउने सोचसम्म पनि बनाएनन्। तर आजको जमाना नै अर्कै भएको छ। यहाँ कोही पनि अब त्यस्ता व्यक्ति बाँकी रहेका छैनन्।

ती राजनेताले स्थापना गरेका पार्टीका अधिकांश नेताहरू नै आज घोर राष्ट्रद्रोही, प्रजातान्त्रिक तानाशाह, अन्यायी, भ्रष्ट र कुशासक भएर निस्किएका छन्।

न कम्युनिष्टमा, न नै प्रजातन्त्रवादीहरूमा समाजवादको कुनै अवशेष र बास्ना बाँकी छ। सबै नै गुहु र मुत्रले सप्रेका उही ड्याङका मुला जस्ता भएका छन्। माक्र्स, लेनिन र माओको त यहाँका आजका कम्युनिष्टले नै उपहास गरिरहेका छन्।

हजारौँ वर्षदेखि हिमवत क्षेत्रबाट भारतवर्षमा र उताबाट यता बसाईँ सर्ने परिपाटी बसेकै छ। त्यस्तै हिमाल वारि र पारि पनि यसरी नै बसाईँ सराई भइ नै रहेको हो।

देवेन्द्रको परिवार झैं उसका हिमाल, पहाड र तराईका साथीहरू जस्तै आङ छिरिङ, पासाङ पेम्बा, राम पाण्डे, काश्यप शर्मा, दुर्गा कुँवर, हेमन्त राजपुत, दिगम्बर मिश्र, हनुमानप्रसाद झा, देवकीकुमार यादव आदिका परिवार कोही निकै पहिले आजको नेपालमा बसोवास गर्न आए भने कोही अलि पछि आएर बसेका हुन्।

त्यसरी नै हिमवत खण्डका कैयन् जातजाति पनि यहाँबाट भारत, चीन, वर्मा, मलाया, थाइल्याण्ड, फिजी, ट्रिनिडाड तथा अझ टाढाका मुलुकमा गएर बसेका छन्।

पहिलो पुस्ताका आप्रवासीलाई कतै पनि अन्य नागरिक सरहको शासकीय सुविधा नदिनुको अर्थ उनमा आफ्नो जन्मभूमिकै माया र लगाव हुने भएकोले उनीहरू नयाँ मुलुक प्रति बफादार हुँदैनन् भनेर यसो गरिएको हो।

तर उनका सन्तान भने आफू जन्मेको, हुर्केको र शिक्षा तथा संस्कार पाएको परदेशलाई नै आफ्नो मातृभूमि सम्झेर सोही मुलुकका बफादार नागरिक भएर सबैसँग मिलिजुली बस्ने गर्दछन्। यो नै मानव चरित्रको एउटा ज्वलन्त उदाहरण हो।

देवेन्द्रको दिक्दारीको अर्को कारण भने हालैको गणतन्त्र दिवसको उपलक्ष्यमा रिहा गरिएका केही कैदीहरू पनि हुन्। हत्या र हिंसाको आरोपमा न्यायालयका तीनै वटा तहबाट जन्म कैदको सजाय पाएर सोको निर्णय लेखिएको कलमको मसी सुक्नु त कहाँ हो कहाँ, निर्णयको लिखत सार्वजनिक हुनु अगावै संसद र सरकारले राष्ट्रपति कहाँ अनुमोदनको निम्ति पठाउने र सोको अनुमोदन राष्ट्रपतिले खुरु खुरु गरेको पनि देवेन्द्रलाई पचेकै छैन।

आम जनताको न्यायालय माथि नै विश्वास घटेको आजको समयमा न्यायालयले गरेको केही राम्रो काममा पनि सरकारी हस्तक्षेप भएर केही संगीन कसुरदारलाई बाइज्जत रिहा गरेर अन्य निरीहलाई थुनामा नै राख्नाले आम जनतामा मात्र होइन, अपराधको सजाय भोगीरहेकाहरू समेत आफूहरूलाई मात्र अन्याय भएको र आफू असुरक्षित भएको महसुस गरिरहेका छन्।

देवेन्द्रलाई ताज्जुप लागेको विषय त के हो भने आफ्नै सुरक्षा दस्ताका उच्चदेखि तल्ला तहका झण्डै एक दर्जन सुरक्षाकर्मीको हत्याको आरोपमा कैद सजाय भोगिरेका व्यक्तिहरू कैद माफी पाएर छुट्दा पनि प्रहरीका उच्च पदस्थ अधिकारी र प्रमुखले मुकदर्शक भएर बस्नु।

उनीहरूको पनि बााध्यता र अनुशासनका दायरा होलान्। तर देवेन्द्रले मनमनै गुनेको थियो कि उ त्यस्तो पदमा भएको भए ‘यस्तो अन्यायको परिस्थितिमा म आफ्नो पदमा अब रहिरहन सक्दिन’ भनेर राजिनामा दिइसक्ने थियो भनेर।

तर यहाँ कोही पनि आफूले ठूलो लगानी गरेर बल्ल तल्ल पाएको पद वा ठाउँ छोड्न तयार छैन। नेपाल व्यापारमय भएको छ। यहाँ सबैथोकको पैसामा सौदावाजी हुन्छ। पैसा र पहुँच विनाका वुद्धिजीवी, ज्ञाता वा अनुभवी कसैको पनि काम छैन यहाँ।

सानो छँदा देवेन्द्रले नेपालको इतिहास पढ्ने क्रममा नेपालले उत्तरी छिमेकी तथा फिरङ्गीसँगको लडाईमा गुमाउनु परेको ठूलो भूभाग विदेशमा मिलेको कुराले उसको पेट पोलेर उ निकै छट्पटिन्थ्यो।

उसको बाल मस्तिष्कले त्यतिबेला दक्षिण एशियाको नक्शा हेर्दै नेपालले गुमाएको भूभागलाई रातो कलमले चिनो लगाएर आफू ठूलो भएपछि त्यो सब नेपालमा फिर्ता ल्याउने बाल सपना देख्थ्यो।

विश्वको भूराजनीति, ठूला देशको साना माथिको हैकम र थिचोमिचो, जसको शक्ति उसको भक्ति र माइट इज राइट भन्ने जस्ता उक्ति तथा हाम्रा देशका असक्षम तथा चाकडीवाज शासक बारे उसलाई निकै कम ज्ञान थियो।

उही नेपाली जातीले विदेशी भूमिमा त्यहीँको नागरिक भएर बस्दा पाउने सुख र समृद्धि आफ्नो मुलुकका दूरदृष्टिविहीन निकम्मा शासकहरूले प्रदान गर्न नसकेका तथ्यबाट उ अनभिज्ञ थियो।

तर आज देवेन्द्रले बुझिसकेको छ कि अब त प्रवासमा बस्ने नेपाली समेत आफ्नो पुर्खाको जन्मथलो यसरी आफ्नै कारणले असफल राष्ट्रमा परिणत भएको देखेर खिन्न मात्र भएका छैनन् कि हामी नेपालीलाई धित्कार्दै पनि छन् भनेर।

देवेन्द्रका बाबु बाजेले आफ्नो मुलुकमा उच्च अध्ययन गर्न नपाएर भारत तथा अन्य मुलुकमा गएर पढेका, आम नेपालीले आफ्नो मुलुकमा रोजगारी नपाएर विदेशमा श्रम बेचेर जीवन बिताएका, विश्वयुद्धहरूमा विदेशी फौजमा रहेर भए पनि वीरतापूर्वक गोर्खालीको इज्जत धानेका तथा भारतको स्वतन्त्रता संग्राममा डटेर भारतीय नेताहरूलाई सघाएका थिए।

एकातिर भारतको स्वतन्त्रता संग्राममा जेलनेल सहेर सघाएका हाम्रा अग्रजहरूकै कारण गान्धी र नेहरु जस्ता विश्वस्तरका भारतीय राजनेताले नेपाल र नेपालीलाई निकै माया र इज्जत गरेका थिए भने अर्कोतर्फ वेलायतलाई भारतमा राज गर्न सघाएका गोर्खे भन्दै आजका धेरै भारतीय नेताहरूको मन-मस्तिश्कको भित्र कुनै कुनामा नेपालीहरू माथि चरम घृणा र द्वेष रहेको तथा विशाल भारत टुक्रिएर वर्मा, पाकिस्तान र पछि बंगलादेश बनेकोमा सिक्किम, भुटान र नेपालजस्तालाई दबाउने र पाएमा आफूमा समाहित गर्दै थोरै भए पनि क्षतिपुर्ति गर्दै जाने मनस्थिति समेत केही नेताहरूमा बन्नु एक सामान्य मनोवैज्ञानिकता नै हो।

तर अस्तित्वको लाडाईँमा सामान्य किरा-फट्याङ्ग्रा र पशु-पंक्षी समेत माहिर हुने गरेकोमा हामी नेपाली भने आफ्नै लाचारी र गैरजिम्मेवारीले गर्दा पछि परेका छौँ। ३ करोड जनसंख्या भएको हाम्रो मुलुकको अस्तित्व समाप्त हुँदैन भन्ने सोच माथि समेत आजको परिस्थितिले शंका उत्पन्न गराउन बाध्य बनाएको छ।

भारत र चीनको चेपोमा परेको तथा छिमेकीहरूको मिचाहा र हेपाहा प्रवृत्तिबाट ग्रसित नेपालका शासकहरूको आफ्नो सत्ता जोगाउन जे जस्तो कार्य गर्न पनि तयार हुने सोचले गर्दा आज हामी बिस्तारै सबै क्षेत्रमा चुक्दै गइरहेका छौँ।

भारतले बिजुली किन्दिन भनेर धम्क्याए पछि हामीले बिस्तारै सबै ठूला जलविद्युत आयोजनाहरू उसैको पोल्टामा बिना कुनै ठोस शर्त सुम्पँदै जान थालेका छौँ भने चीनको छायाँ पर्न नदिन भारतले चिनीया ठेकेदारले ग्लोबल टेण्डर मार्फत बनाएका आयोजनालाई समेत बहिस्कार गर्दा तथा एउटा भूपरिवेष्ठित राष्ट्रलाई सुरक्षाको वहानामा हवाई मार्गसमेत नदिँदा र आफ्नो नक्शामा हालै लुम्बिनी र कपिलवस्तु समावेश गर्दा पनि कुनै प्रतिकार गर्न नसक्नु हाम्रो लाचारी नभए अरु के नै हुन सक्छ र?

प्रधानमन्त्री प्रचण्डको हालको भारत भ्रमणको पुरा विवरण प्राप्त भएपछि छिमेकीसँग असल सम्बन्ध राख्न र नेपालको हितको निम्ति उनको प्रयास कस्तो रह्यो भन्ने कुरा थाहा लाग्ने छ।

आफ्नो मुलुकको हितलाई चीन र भारत दुबैले प्राथमिकता दिने भएकाले हामीले पनि आफ्नै हितको संरक्षण गर्ने कार्य किन गर्न सक्दैनौँ। देवेन्द्रको छटपटी यस्तै कुराहरूले गर्दा बढीरहेको छ।

तर पनि उसमा केही झिनो आशा छ कि नेपालका शासकहरूले आफ्ना केही वाध्यताले गर्दा हुन सक्छ देशहितका कार्य राम्ररी गर्न सकेका छैनन् तर आउँदा दिनहरूमा उनीहरू बढी साहसी र जिम्मेवार हुँदै जानेछन् भनेर।

लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *