सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान
सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। पैसठ्ठी शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो।
वीरेन्द्रनगर र चिंगान दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।
यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।
पहिलो चरणमा बराहाताल, चिंगान, भेरीगंगा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए।
यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए।
कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए। खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ।
खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ। खोप केन्द्र विद्यालयमा राखिने छ। दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ। यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment