कोशी प्रदेशः विश्वासको मतका लागि प्रस्ताव पेस, बैठक अनिश्चित

डिसी नेपाल
१४ असार २०८० २१:४४
104
Shares

विराटनगर। कोशी प्रदेशसभा बैठकमा  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि आधा घण्टाका लागि स्थगन भएको सदन तीन घण्टा बित्न लाग्दा पनि प्रारम्भ भएको छैन।

एमाले र राप्रपाले मात्र विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीसहित सबै मन्त्री प्रदेशसभाबाट बाहिरिएका थिए। साँझ ५ बजेर २० मिनेटमा आधा घण्टाका लागि बैठक स्थगन भएको थियो।

मुख्यमन्त्री र अन्य मन्त्रीहरू बिनाखबर अनुपस्थित भएपछि बैठक अनिश्चित भएको छ ।

सभा दिउँसो १ बजे सञ्चालन हुने कार्यसूची रहे पनि १ः५० मा प्रारम्भ भएको थियो। मुख्यमन्त्री  कार्कीले आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८(४) बमोजिम सो प्रस्ताव पेस गरेका हुन्।

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री कार्कीले गत पुस २५ गते निर्माण भएको वर्तमान सरकार बनेको केही समयपछि नै विश्वासको मत लिनुपर्ने बाध्यता आउनु राष्ट्रिय राजनीतिमा नराम्रो असर पर्ने बताए । उनले मुलुकको आर्थिक स्थितिलाई सुदृढ एवं बलियो बनाउन पनि स्थिर सरकारको आवश्यकता रहेकाले यही सरकारलाई दिगो बनाउन सबै राजनीतिक दलसँग विश्वासको मत मागे।

मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा बनेको सरकारले ५२औँ दिनकै अवधिमा प्रदेशको नामकरण गर्न सफल भएको उल्लेख गर्दै मुलुकमा असल संस्कृति बसाल्न सरकारलाई विश्वासको मत दिनुपर्ने जिकिर गरे।

उनले सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत फिर्ता लिएपछि उत्पत्र परिस्थितिमा बाध्य भएर अध्यादेशबाट बजेट ल्याएको जिकिर गर्दै सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत खर्च गर्ने क्षमता बढाएको बताए । उनले प्रदेश कोषलाई कमजोर हुन नदिन विधि र प्रक्रियाबाट योजनाको काम थालनी भएको स्पष्ट पार्दै आफ्नो सरकारले सुशासनको हकमा राम्रो काम गरेको दाबी गरे।

सो प्रस्ताव निर्णयार्थ अहिलेसम्म पेस भएको छैन । प्रस्तावपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेश सरकारमा विश्वासको वातावरण नदेखिएकाले विश्वासको मत दिन नसकिने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको तर्फबाट अम्बरबहादुर राईले राप्रपा अहिले पनि सरकारमा सहभागी भएकाले सरकारले मागेको विश्वासको मतको पक्षमा रहेको बताए।

यसैगरी, नेकपा (एमाले) संसदीय दलका तर्फबाट लीलाबल्लभ अधिकारीले सरकारले थोरै समयमा धेरै रचनात्मक कार्य गरेको र अहिलेको विषम परिस्थितिलाई सहज बनाउन, दिगो शान्ति र स्थिर सरकार लागि वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलसँग आग्रह गरे।

संसदीय दलको तर्फबाट बोल्ने क्रममा जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूलाई सभामुख बाबुराम गौतमले बोल्नका लागि रोष्टममा बोलाउँदा उनले बोल्न अस्वीकार गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.