भिक्षु खेन्पो पेम छिरी शेर्पा गीत ‘कस्तो हो मन’ मार्फत ज्ञान बाँढ्दै

डिसी नेपाल
३० असार २०८० ९:५१
396
Shares

काठमाडाैं। पछिल्लो समय बौद्ध भिक्षुहरुले बुद्धका ज्ञान र शिक्षा प्रवाह गर्ने माध्यम चलचित्र र संगीतलाई पनि बनाउँदै आएका छन्। यही क्रममा बौद्ध भिक्षु खेन्पो पेम छिरी शेर्पाले संगीतमार्फत् बौद्ध ज्ञानका केही अंश बाँढ्ने प्रयास गरेका छन्।

संगीतमा पनि रुची र दख्खल राख्ने खेन्पो पेम छिरिले आफ्नै स्वरमा रेकर्ड गरेको गीतमा मनलाई विभिन्न कोणबाट चर्चा गरिएको छ। गीतमार्फत खेन्पोले मानव जीवनमा सबै कुरा मनले नै निर्धारण गर्ने भन्दै ‘कस्तो हो मन’ भन्दै मनका विभिन्न भावहरुलाई गीतमा उतारेका छन्।

मनले नै सुख र दुखको अनुभुति गराउने गीतमा भनिएको छ। मनका विभिन्न प्रश्न र भावहरु खोज्दै जाँदा गीतले बुद्धको खास दर्शन शून्यतालाई आत्मसात गरेको खेन्पो पेम छिरिले बताए।

गीतको म्यूजिक भिडियो समेत तयार भइसकेको छ। म्यूजिक भिडियोमा चर्चित डान्सर सुशान्त खत्रीलाई फिचर गरिएको छ। गीतबाट नाम र दाम कमाउने उद्देश्य नभई गुम्बा र विहारमा बाँड्दै आएको ज्ञान र शिक्षालाई डिजिटल दुनियाँको सदुपयोग गर्दै धेरैभन्दा धेरै मानिससम्म पुर्याउन गीतको सहारा लिएको खेन्पोको भनाइ छ।

समय अनुसार चल्न सक्नु पर्छ भन्ने गौतम बुद्धको ज्ञानको सारलाई पछ्याउँदै अहिले गीत संगीतमा झुम्नेहरुको संख्या अधिक भएका कारण पनि आफ्नो विचार र सन्देश दिन संगीत उपयुक्त माध्यम भएको खेन्पोको ठम्याइ छ। सोही अनुरुप सबैले रुचाउने अनि भाका र लयका माध्यमबाट भन्दा सजिलै बुझिने भएकाले पनि गीत रेकर्ड गरिएको उनले बताए।

गीतको शव्द चर्चित कवि तथा गीतकार दुर्गालाल श्रेष्ठले लेखेका हुन्। मनलाई केन्द्रमा राखेर गीत लेखिदिन खेम्पोले गीतकार श्रेष्ठलाई अनुरोध गरेका थिए।

गीतकार श्रेष्ठले आफुले भने जस्तै निकै उत्कृष्ट शव्द चयन राख्दै गीत लेखि दिएको भन्दै खेन्पोले गीतकार श्रेष्ठको प्रशंसा गरे। गीतकार श्रेष्ठ फूलको आँखामा फूलै संसार गीतका लेखक हुन्।

त्यस्तै गीतमा चर्चित संगीतकार न्हू वज्राचार्यको संगीत रहेको छ । गीतमा संगीत संयोजन गोपाल रसाईली, रेकर्डिङ भानुभक्त ढकाल र मिक्सिङ मास्टरिङ श्याम बागदासले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.