निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

डिसी नेपाल
१ साउन २०८० १५:००
572
Shares

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो। उक्त जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो। अर्को न्यारोबडी ९एन–एकेएक्स जहाजको पनि बायाँ इञ्जिनमा समस्या देखिएको छ।

जहाजमा चरा ठोक्किँदा इञ्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए। “निगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इञ्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र उक्त जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ”, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी अर्को जहाज ९एन–एकेएक्सको नियमित इन्सपेक्सन गर्दा बायाँ इञ्जिनको ‘हाई प्रेसर टर्विन ट्रेलिङ एज’ मा समस्या देखिएकाले ‘एप्रुभ मेनुअल’ र निर्माता कम्पनीको सुझावअनुसार १० साइकल मात्र उडान गर्न सकिने भएकाले उक्त जहाज ग्राउन्डडेड गरिएको र यथाशीघ्र इञ्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ।

अहिले देखिएको समस्याका बाबजुत यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो। त्यसमध्ये छ साइकल उडानपश्चात् इञ्जिनको मर्मतमा जाने उडान (चार साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ।

नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इञ्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताए। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी कूल चार वटा जहाज छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *