व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छः अध्यक्ष बिजुक्छे

डिसी नेपाल
७ भदौ २०८३ २२:१७
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक, सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
अध्यक्ष बिजुक्छेले भने, “सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वास्थ्यभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने हो, तर परिवर्तनका लागि अझै केही पुस्ताले कुर्नुपर्ने देखिन्छ।”
जनताको भावनालाई कुण्ठित पार्ने काम कसैले गर्न नहुने बताउँदै उहाँले जबसम्म जनताको भावनालाई कुण्ठित पारिन्छ, तबसम्म देशको प्रगति नहुने बताए।
अध्यक्ष बिजुक्छेले भने, “अब नयाँ पुस्तालाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ, जनताले चाहेजस्तो परिवर्तन गर्न अझै केही पुस्ता लाग्छ, जनप्रतिनिधिले त सारा जनताको मन र भावना जितेर काम गर्नुपर्छ।”
समाज सफल पार्नसके देश सफा हुने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले नैतिक धरातल खस्किँदै गएको अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीले सही बाटो देखाउनुपर्ने औँल्याए।
कार्यक्रममा रासस भक्तपुरका समाचारदाता रमेश गिरी, सुन्दर शिल्पकार, मकर श्रेष्ठ, पुष्करराज बूढाथोकीलगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास, मूर्त तथा अमूर्त सम्पदाहरु, जात्रा पर्वलगायत विषयमा समाचार प्रकाशन गरी विश्वमाझ भक्तपुरलाई चिनाउन टेवा पुर्‍याएको बताए।
राससलगायत विभिन्न सञ्चारमाध्यममा भक्तपुर नगरपालिकाकाबारेमा प्रकाशित फिचर, लेखलगायतलाई समेटेर भक्तपुर नगरपालिकाले प्रकाशन गरेको दुई पुस्तक एउटा समाचारका दृष्टिकोणबाट ऐतिहासिक दस्तावेज भएको उनले बताए। कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले सञ्चारकर्मी र सञ्चारमाध्यमले भक्तपुरकाबारेमा पस्किएका समाचार भक्तपुरका लागि मार्गदर्शन र दस्तावेजका रुपमा सङ्कलन र संरक्षण गर्ने कार्य गरेको बताए।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिका अरु नगरपालिकाका लागि पनि उदाहरण बन्दै गएको र भक्तपुरका उदाहरणीय कार्यलाई सबैतिर प्रचार गर्ने कार्य सञ्चारकर्मीले गरेको बताए।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *