पुल नबन्दा बारीमै कुहियो तरकारी

डिसी नेपाल
११ साउन २०८० १०:२७
184
Shares

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ। पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।

बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए। “तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो। बजारसम्म तरकारी पुर्‍याउन सकिएको छैन”, उनले भने। पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ।

अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ। बिक्री हुने मुख्य गुलरीया हाटबजार हो। जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताए।

रु १६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो। जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो। पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का संघीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दैआएका छन्।

नयाँ पुल निर्माणको माग राख्दै उनी भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बसेका थिए। सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.