बाघको संख्या वृद्धिमा ठूलो सफलता : वनमन्त्री डा. महतो
काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल वन, वनस्पति र वन्यजन्तुमा धनी भएको भन्दै यसको संरक्षणसँगै देशको समृद्धिमा कसरी टेवा पुर्याउन सकिन्छ भन्नेबारे सोच्ने बेला आएको बताएका छन्।
आज (शनिबार) विश्व बाघ दिवस-२०२३ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सदर चिडियाखाना, ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वनमन्त्री महतोले विश्व बाघ दिवस मनाउनको लागि दिइएको ‘मानव-बाघ सहअस्तित्व’ नाराअनुसार काम गरिनुपर्नेमा जोड दिए।
उनले विश्वमा बाघ पाईने १३ राष्ट्रहरुमध्ये नेपालपनि एक भएको र पछिल्लो वर्ष नेपालले बाघको संख्या वृद्धि गर्नमा ठूलो सफलता हाँसिल गरेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए।
मन्त्री महतोले वाघको संख्या समयभित्रै दोब्बर बनाएकोमा नेपालले अन्तर्राष्ट्रिय समूदायबाट प्रशंसासमेत बटुलेको सुनाए । अब बाघको संरक्षणमा सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाई थियो।
नेपालको वनजंगलको संरक्षणमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने सुरक्षा निकायका उपल्लोदेखि तल्लो तहका सबै कर्मचारीप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरे ।
उनले भने,‘हामीले अन्तर्राष्ट्रिय फोरममा गरेको प्रतिबद्धताअनुसार बाघको संख्या सन् २०२२ भित्रै झण्डै तेब्बर बनाएका छौं । यो हाम्रो लागि गौरवको विषय हो । अब यसको संरक्षण गर्नु नै हाम्रो लागि अर्को चुनौती थपिएको छ ।’
पछिल्लो समय मानवको जीवन ठूलो कि जनावरको भन्ने बहस पनि सुरु भएको उनको टिप्पणी थियो । मानव र जंगली जनावरबीचको द्वन्द्वको कारण यस्तो बहस सुरु भएको भन्दै सरकारले मानव-जंगली जनावरबीचको सहअस्तित्वलाई ध्यान दिएको पनि उनको भनाइ थियो ।
उनले भने,‘पछिल्लो समय बाघ अनि हात्तीको आक्रमणबाट निधन हुने मान्छेको संख्या बढिरहेको छ। यो एकदमै चिन्ताजनक विषय हो । अब हामी सरोकारवाला निकायले मानव-जंगली जनावरबीचको द्वन्द्व कम गर्न र सह-अस्तित्वलाई बढावा दिँदै जंगली जनावरबाट हुने आक्रमण कम गर्न प्रयास थाल्नुपर्छ । यसमा विलम्ब नगरौं ।’
उनले आज मानवको आचरणमा पनि सुधार ल्याउन जरुरी भएको उल्लेख गरे । मान्छेको जनसंख्या वृद्धिसँगै वन जंगलको विनाश पनि बढिरहेको भन्दै जंगलमा पानीको मुहान सुकेको र घाँसहरु पनि मासिँदै गएको दुःखद् अवस्था पनि उनले चित्रण गरे।
उनले भने,‘जंगलको इको-सिस्टम बलियो बनाउनुपर्छ । अहिले जंगलमा आहार नपाएर जंगली जनावरहरु मानव बस्तीमा पस्न थालेको हो । हामीले त्यतातिर ध्यान दिन जरुरी छ ।’
मन्त्री डा. महतोले मानव–जंगली जनावरबीचको द्वन्द्वमा न्युनीकरण गर्नको लागि केही नवीन र वैज्ञानिक अवधारणा ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने-‘नेपाल कृषिप्रधान देश भनेर विश्वमै चिनाउन सफल भएका छौं, तर आजको हाम्रो अवस्था एकदमै नाजुक छ । बाँदरहरु मान्छेको बाली नालीमा पसेका छन् । किसानहरु चिन्तित छन् । यतातर्फ पनि सोचौं । बाँदरको व्यवस्थापनि कसरी गर्ने भन्ने अहिले ठूलो चुनौती थपिएको छ ।’
उनले बाँदर विदेशी निर्यात गर्ने वा बन्ध्याकरण के गर्ने भन्ने विकल्पतर्फ पनि सोच्ने बेला आएको सुनाए । नेपालस्थित् वन तथा वातावरणको क्षेत्रमा काम गर्ने विदेशी संस्थाहरुको भूमिका पनि सकारात्मक हुनुपर्नेमा उनको जोड थियो ।
उनले भने,‘सानो-सानो कुरामा पनि हस्तक्षेप गर्नु गलत हो ।’ उनले बाघहरु बढि हुँदा नेपालबाट भारततर्फ जाने हो कि भन्ने चिन्ता व्यक्त गरे । जनावरलाई एक देशबाट अर्को देशमा जानको लागि भिसा नचाहिने भन्दै उनले यसतर्फ ध्यान दिनुपर्ने पनि औंल्याए ।
मन्त्री महतोले नेपालको भू-भागको ४५ प्रतिशत वनले ओगटेको उल्लेख गर्दै यसलाई समृद्धिको माध्यम वा सेतु कसरी बनाउन सकिन्छ भन्नेतर्फ सोच्ने बेला पनि आइसकेको बताए ।
उनले भने,‘हाम्रो देशमा अहिले एक जना व्यक्तिको जन्मदिनमा पनि वृक्षारोपण हुने गरेको छ। यो एकदमै राम्रो कुरा हो । तर, जंगल चाहीँ बढाएको बढाए गर्ने अनि यसलाई देशको समृद्धिमा योगदान पुर्याउने माध्यम किन नबनाउने ? अब प्रकृतिलाई देशको विकासको लागि टेवा पुर्याउने कुरा गरौं ।’
उनले जंगल तथा निकुञ्ज आसपासमा इको-टुरिज्मलाई बढावा दिन खोज्दा विरोध तथा आलोचना हुने गरेको विगत स्मरण गराउँदै अब नेपालले चीन र दक्षिण अफ्रिकाबाट पनि सिक्नुपर्ने बताए ।
उनले नेपालको बर्दियामा इको-टुरिज्मको अथाह सम्भावना रहेको बताए । तर, राम्रो र स्तरीय रिसोर्ट अनि होटेल नहुँदा विदेशी तथा आन्तरिक पर्यटकहरु बर्दियामा एक दिन पनि नअडिएको तितो अनुभव पनि उनले साझा गरे ।
सो अवसरमा वन तथा वातावरण मन्त्रलायका सचिव डा. रेवती रमण पौडेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विश्व बाघ दिवसको अवसरमा शु्भरकामना दिएका थिए ।
मन्त्री महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रमको सुरुवात गरेका थिए।







डिसी नेपाल







Facebook Comment