एनएमबि लघुवित्त संस्था घाटामा

डिसी नेपाल
१ भदौ २०८० ११:०२
196
Shares

काठमाडौं । खराब कर्जा चुलिएर इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म घाटा व्यहोर्नुपरेको छ।

शुक्रबार सार्वजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो।

एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड १२ लाख रुपैयाँमा सीमित थियो। खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा समीक्षा अवधिसम्म संस्थाले २ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले १८ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि २३.०६ प्रतिशतले घटेर ३४ करोड ७४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४५ करोड १५ लाख रुपैयाँ भएको थियो।

चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार भने १३.०३ प्रतिशतले बढेर २२ करोड ४५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ८७ लाख रुपैयाँ थियो।

चौथो त्रैमाससम्म संस्थाले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १७.१२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *