‘एक भगवत् गीता’ को नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति

डिसी नेपाल
२४ भदौ २०८० २२:५७
780
Shares

काठमाडौं। चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ।

आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ।

यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो। सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ ।

दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए।

“हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो”, बोर्ड अध्यक्ष केसीले भने।

निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिए। उनले भने, “सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पुर्‍याएको छैन ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *