विद्यमान निर्वाचन प्रणाली परिमार्जन गर्न जरुरी छ : माधव नेपाल

डिसी नेपाल
६ असोज २०८० १४:०६
132
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए।

समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए।

अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे। वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भौगोलिक अखण्डता, मुलुकको स्वाभिमान रक्षा तथा अन्यायविरुद्ध संघर्ष गर्ने आदर्शलाई कम्युनिष्टहरुले अवलम्बन गर्ने गरेको बताए। राष्ट्रियता, जनताको हितलाई केन्द्रमा राखेर सामाजिक न्याय सम्पादनमा कानुन व्यवसायी क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरणका बेरोजगारीको अन्त्य गर्नुपर्ने भन्दै त्यसका लागि औद्योगीकरणतर्फ लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। देशमा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउँदै उहाँले समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.