स्वदेश फर्किएपछि सभामुखले भने-शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु
काठमाडौं। सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार बिहान स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका दौरानमा दुई देशबीचको संसदीय आदान प्रदान लगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिए।
‘दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु,’ उनले भने, ‘संसदका कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौं।’
सभामुख घिमिरेले राष्ट्रपति, मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए।
उनले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहितका नेपाली जनशक्तिको रोजगार लगायतका विषयमा छलफल भएको बताए। स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुखको भनाइ छ।
भ्रमणमा सभामुख घिमिरिले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स, संसदको दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्रीहरू, नेपाली समुदाय लगायतसँग छलफल र भेटघाट गरेका थिए।
यसैबीच पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताए।
‘विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,’ उनले भने, ‘विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुंग्याउने काम हुन्छ।’







डिसी नेपाल








Facebook Comment