सरकारको अपिल : सदाचार र नैतिकताको प्रतिकूल हुनेगरी प्रकाशन प्रसारण नगरौं

डिसी नेपाल
१६ असोज २०८० २२:२७
4
Shares

काठमाडौं । सरकारले सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुनेगरी सामग्री प्रकाशन वा प्रसारण नगर्न अपिल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा विशेष प्रस्तावमाथि छलफल गर्दै सम्प्रदायिकताप्रति विशेष ध्यान दिन अपिल गरेको हो ।

सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा सङ्घीय एकाइबीचको सुसम्बन्धमा प्रतिकूल असर नपर्नेगरी सूचना प्रवाह गर्न मन्त्रिपरिषद्ले आग्रह गरेको बताइन् ।

उनले भनिन्, “वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउनुहुन सम्बन्धित सबैमा विशेष प्रस्तावको रुपमा सरकारले अनुरोध गरेको छ ।”

साथै प्रवक्ता शर्माले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहिन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने गरी सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको बताइन् ।

उनले भनिन्, “जातीय भेद्भाव, छुवाछूतलाई प्रोत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराधलाई बढावा दिने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुन बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउनसमेत सरकारले अपिल गरेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.