कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ’
मुस्ताङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन्।
तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने, ‘तिब्बत तर्फ भौतिक संरचनाहरु निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ।’
नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा भोलि समस्या आउन सक्ने उनले बताए। ‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार संचालन गर्न हाम्रो तर्फपनि भौतिक संरचना जरुरी हुन्छ’, उनले भने।
अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ। नाकासम्म पुग्ने सडक स्तरोन्नती गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउनतर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताए।
‘कोरोला नाकासम्मको सडकपनि संघ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारलेपनि सहकार्य गरेको छ’, उनले भने। निर्माण ब्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए।
पछिल्लो चिन भ्रमणकाबेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए। तर नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन।
उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र संम्बन्धित मन्त्रालयसँग छलफल भईरहेको मुख्यमन्त्री पाण्डेले बताए। ‘नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्नेतर्फ हाम्रो प्रयास केन्द्रित छ’, उनले भने।
सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठकपनि कोरोलामा बसेको थियो। बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाए, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको थियो।
कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायतपनि सहभागी थिए।
गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहितको टोलीले सिमावर्ती क्षेत्रको १० भन्दाबढि गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेका थिए।
प्रदेश सरकारबाट संचालन भएका योजनाको अवस्था, चालु वर्ष बिनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने संवोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरु र स्थानीयबिच अन्तरक्रिया भएको थियो। मुख्यमन्त्री गाउँगाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिन्थे।







डिसी नेपाल







Facebook Comment