कर्णाली प्रदेशसभामा सांसदले भने, ‘घरभाडा खर्च पुगेन ?’

डिसी नेपाल
१९ असोज २०८० ७:२९
36
Shares

सुर्खेत। नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’

उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको बालुवा संग्रहीदेखि सल्यान खलंगासम्म लागेको सडकको ठेक्काको काम ६ वर्षसम्म पूरा नहुनुको कारण सोधे। म्याद थपिरहने तर काम नहुने भन्दै उनले मन्त्रालय, कार्यालय र ठेकेदार मिलेर ठग्ने गरेको बताए।

५६ हजार अपांगता भएका व्यक्तिका लागि कर्णाली सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मन्त्रालय समेत अपांगतामैत्री नभएको भन्दै आक्रोश पोखे।

हुम्लाका प्रदेशसभा सदस्य रणसिंह परियारले हुम्लामा बाढी पहिरोबाट १५ लाख क्षति भएकाले तत्काल समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। दशैँतिहार नजिकै आएकाले स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले बाटो खुलाउनु पर्ने प्रदेशसभा सदस्य विन्धमान विष्टले बताए।

प्रदेशसभा सदस्य जानकी सिंहले भेरी करिडोर, कर्णाली करिडोरभित्र ठाउँमा महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे। उनले प्रदेशसभा सदस्यलाई घरभाडा नपुगेकाले त्यो बढाउन माग गरिन्।

रुकुम पश्चिमबाट निर्वाचित महेन्द्र केसीले रुकुम पश्चिममा मकै बालीमा हावाहुरीले क्षति पुगेको बताउँदै राहत दिनुपर्ने बताए। तर प्रदेशसभा सदस्यले जती कुरा उठाएपनि सरकारले पनि कुनै ध्यान नदिएको पाइएको छ । मुख्यमन्त्रीले केही दिन अघि दिएको दिएको निर्देशन समेत पालना भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.