टीकाको साइत ११ बजेर २ मिनेटमा : टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

डिसी नेपाल
७ कार्तिक २०८० ९:२५
272
Shares

काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा बाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन्।

“विजया दशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उनी भन्छन्, “शुभ साइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिबेला पनि टीका लगाउन मिल्छ।”

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ।

टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउँछन्।

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *