चिउरी गाउँका तेह्र जनाको सामूहिक दाहसंस्कार

डिसी नेपाल
१९ कार्तिक २०८० २०:५२
168
Shares

जाजरकोट । भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।

चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा चिउरी गाउँका मात्र १३ जना थिए ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, चार वर्षीयका सुशान्त परियार, आठ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, चार वर्षका विशाल विक, २४ वर्षीया मनिषा विक, २३ वर्षीय सुजल विक, ५८ वर्षका दत्तबहादुर कुमाइको निधन भएको थियो ।

चौबीस वर्षीय भीमसेन विक, चार वर्षका सन्दीप विक, २१ वर्षीया कमला विक, सात वर्षीय प्रदेश विक, १४ वर्षीया विमला विक र १२ वर्षीय सुनिल विकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो । चौध वर्षीया विनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो ।

अधिकांश दलित समुदायको यस गाउँमा बसोबास छ । माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँका कुनै पनि घर सक्लो छैन । भूकम्पको असर सबैभन्दा बढी नलगाड नगरपालिकामै परेको छ ।

अहिले मृतकका आफन्त, घाइतेका आफन्त तथा अन्य प्रभावितहरू खुला आकाशमा बसीरहेका छन् । राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्वसधारण त्रसित छन् । अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए ।

मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकामा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रतिमृतकका परिवारलाई क्रिया खर्चवाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घर पूर्ण तथा आशिंक रुपमा क्षति भएको नगरप्रमुख डम्बर रावतले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *