तेस्रो पटक कांग्रेस महासमिति बैठक सार्ने तयारी

डिसी नेपाल
१७ मंसिर २०८० १०:४२
120
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेको छ। यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बैठक पुस १६ देखि १९ सम्म राजधानीमा बस्ने तय भएको थियो।

तर, राष्ट्रिय सभा निर्वाचन र जाडोलाई देखाएर बैठक सार्ने तयारी भएको हो। स्रोतका अनुसार माघ अन्तिम वा फागुनको पहिलो हप्तासम्म महासमिति बैठक सार्ने तयारी छ।

यसअघि मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस दुई गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो। सो बैठक पनि निर्धारित समय अगावै पुस १६ देखि १९ सम्म सार्ने निर्णय गरिएको थियो।

औपचारिक रुपमा पुस १६ देखि १९ सम्म सञ्चालन हुने बैठक सार्ने निर्णय भएको छैन तर, राष्ट्रियसभा चुनावलाई देखाएर बैठक सार्ने तयारी भएको सभापति शेरबहादुर देउवा निटक स्रोतले जनाएको छ।

‘अहिले जाडोको सिजन सुरु भएको छ भने राष्ट्रियसभा चुनावको मिति पनि तोकिएको छ, यस्तो अवस्थामा निर्वारित समयमा महासमिति बैठक हुने सम्भावना काम छ,’ स्रोतले भन्यो, ‘राष्ट्रियसभा चुनाव र जाडो पछि माघ अन्तिम वा फागुनको पहिलो सातामा गर्ने गरी बैठक सार्ने तयारी छ।’

राष्ट्रियसभाको चुनाव माघ ११ गते हुँदैछ। सो चुनावको लागि गठबन्धन दलहरुबीच छलफल गर्नुपर्ने र प्रत्येक प्रदेशमा शीर्ष नेताहरु खटिनुपर्ने भएकाले महासमिति बैठक सार्ने तयारी गरिएको हो।

बैठकमा संस्थापन इतरपक्षले नेतृत्व हस्तान्तरणको मुद्दालाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ भने सभापति देउवाले पनि केही दिन अगाडि नवलपरासीमा आयोजित कार्यक्रममा हिन्दु राज्य बनाउने विषयमा छलफल गर्न सकिने बताएका थिए।

कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले लिनुपर्ने दबाव बढिरहेका बेला बस्न लागेको महासमिति बैठकलाई महत्वका साथ हेरिएको छ। तर यहीबीचमा बैठक सार्ने तयारी पनि भएको छ। यद्यपि यो विषयमा सभापति देउवाले संस्थापन इतर पक्षसँग भने छलफल गरेका छैनन्।

कांग्रेस सहमहामन्त्री बद्रि पाण्डेले महासमिति बैठक सार्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए। उनले यसअघि पनि पटक पटक बैठकको मिति सार्ने काम भएको भन्दै निर्धारित समयमै बैठक बस्नु पर्ने बताए।

केही दिन अगाडि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि तोकिएको समयमै बैठक गर्ने निर्णय गरेको भन्दै सहमहामन्त्री पाण्डेले अहिले बैठक सार्नुपर्ने कुनै कारण नभएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.