अमेरिकामा लस भेगासको नेभादा विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०८० ११:५९
668
Shares

काठमाडौं । अमेरिकाको लस भेगासस्थित युनिभर्सिटी अफ नेभादाको मुख्य क्याम्पसमा बुधबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।

लस भेगास मेट्रो पुलिसले स्थानीय समय अनुसार राति ११:४५ बजे आक्रमण भएको बताएको छ। बन्दुकधारीको सूचना पाएपछि विद्यार्थी र प्राध्यापकहरूले आफ्नो ज्यान जोगाउन विश्वविद्यालयको कोठामा आफूलाई बन्द गरेका थिए।

स्थानीय समय अनुसार दिउँसो १२:३० बजे गोली चलाउने संदिग्ध व्यक्ति फेला परेको र मृत्यु भएको प्रहरीले जनाएको छ । तर प्रहरीले आक्रमणकारीको बारेमा थप जानकारी दिएको छैन र आक्रमणको सम्भावित कारणको बारेमा कुनै जानकारी नभएको बताएको छ। संदिग्धको मृत्यु कसरी भयो भन्ने पनि स्पष्ट नभएको र पीडितको पहिचानबारे प्रहरीले कुनै जानकारी दिएको छैन।

अधिकारीहरूले अब कुनै खतरा नभएको स्पष्ट गरे । प्रहरीले गोलीबारीबाट प्रभावितहरूको लागि हटलाइन स्थापना गरेको छ। प्रहरीले शंकास्पद व्यक्तिले आत्महत्या गरेको हो वा जवाफी कारबाहीमा ज्यान गएको बताएको छैन ।

ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ “हामी लस भेगासको अवस्थाको निगरानी गरिरहेका छौं। यस हप्ताको सुरुमा, अमेरिकाले एकै वर्षमा सामूहिक गोलीकाण्डका घटनाहरूको आफ्नै रेकर्ड तोड्यो।”

यस वर्ष यस्ता घटनाको संख्या ३८ पुगेको छ, जसमा आक्रमणकारीबाहेक ४ वा सोभन्दा बढीको मृत्यु भएको छ । यसअघि अमेरिकामा एक वर्षमा सामूहिक गोलीकाण्डको सबैभन्दा बढी संख्या ३६ थियो, जुन गत वर्ष रेकर्ड गरिएको थियो।

२०१७ मा लास भेगासमा यस्तै घटनामा, एक बन्दुकधारीले एक संगीत समारोहमा होटलको झ्यालबाट गोली चलाउँदा ६० जनाको मृत्यु भएको थियो र सयौं घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *