सरकारलाई ओलीको प्रश्न– लिपुलेक र कालापानीका विषय उच्च स्तरीय संवादमा किन उठ्दैन ?
गोरखा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुँदा हुँदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जास्पद भएको बताएका छन्।
समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल र भारतबीचको दुई देशीय उच्चस्तरीय बैठकमा अतिक्रमित नेपाली भूमिबारे सरकारले प्रश्न गर्न नसकेर मुलुकप्रति बेइमानी गरेको आरोप लगाए।
अध्यक्ष ओलीले भने,“लिम्पीयाधुरा, लिपुलेक, कालापानीका विषय उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ। त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ। ”
मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा शुक्रवार गोरखा आइपुगेका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गरे।
वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आएका अध्यक्ष ओलीले व्यंग्यात्मक शैलीमा भने, “विकासमा भइरहेको ढिलासुस्तीबारे म प्रधानमन्त्रीसँग कुरा गर्छु । हिजो उहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुँदै म आएको हुँ । १०० किलोमिटर हिँडेकी भनेको त १६ किलोमिटर पो रहेछ।”
अन्तरक्रिया कार्यक्रममा गोरखाका स्थानीयहरुले अध्यक्ष ओलीसँग विकास निर्माण सम्वन्धी विभिन्न माग गरेका थिए ।







डिसी नेपाल








Facebook Comment