मियोमा गोरु घुमाएर दाइँ हाल्ने परम्परा गाउँघरबाटै हराउँदै

डिसी नेपाल
७ पुष २०८० १५:४२
120
Shares

सङ्खुवासभा। सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन्। किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ।सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो। गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन्। जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन्। कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो।

दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए। पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *