विपीन जोशीको सकुशल रिहाइका लागि सार्थक पहल गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

डिसी नेपाल
१८ माघ २०८० १४:४०
60
Shares

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन्।

बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए।

‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने। हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल-इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे।

इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *