हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

डिसी नेपाल
२५ माघ २०८० ७:४५
292
Shares

काठमाडौं। इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताएका छन्।

इजरायल समर्थित युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध मागहरू राखेपछि प्रधानमन्त्री नेतान्याहुले असहमतिसहितको प्रतिक्रिया दिएका हुन्। शान्तिको लागि सम्झौतामा पुग्ने प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेतान्याहुले पूर्ण र अन्तिम विजय बाहेक अर्को समाधान नभएको बुधबार पत्रकार सम्मेलनमा बताए।

प्रधानमन्त्री नेतान्याहुको टिप्पणीले इजरायल मध्यपूर्वमा द्वन्द्व जारी राख्‍ने चाहेको पुष्टि भएको हमास नेताको प्रतिक्रिया छ। इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता कायरोमा हुने अपेक्षा गरिएको इजिप्टको आधिकारिक स्रोतले बीबीसीलाई बताएको छ।

इजिप्टले सबै पक्षहरूलाई शान्ति सम्झौता निष्कर्षमा पुर्‍याउन आवश्यक लचक हुन आह्वान गरेको समाचार स्रोतले उल्लेख गरेको छ। हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो जवाफी प्रस्ताव राखेको थियो।

प्रस्तावित सम्झौताले गाजामा खाद्यान्न र अन्य सहायताको आपूर्ति बढाउने विश्वास गरिएको छ। १ सय ३५ दिनको युद्ध विरामसँगै पूर्णरुपमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता सफल हुनेमा हमास विश्वस्त रहेको बताएको छ।

गतवर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिव १ हजार ३ सय इजरायलीको मृत्यु भएको थियो। इजरायलले गरेको जवाफी कारबाहीमा २७ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। लगातारको इजरायली कारबाहीमा कम्तिमा ६५ हजार मानिस घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *