भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ
काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए।
त्यसअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै संगीतकर्मीले उनकै गीत र भजनमार्फत बिदाइ गरेका थिए। संगीतकार संघ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित संगीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाएका थिए।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे। महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै साङ्गीतिक संसारमा एक युगको समापन भएको बताए।
अर्का महामन्त्री शर्माले एउटा गायकले विगत ३० वर्षदेखि गीत गाउन नसक्नुको पीडा अन्यले महसुस गर्न नसक्ने बताए। ‘एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ। उनको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ’, महामन्त्री शर्माले भने।
संगीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसंगीतमा अपुरणीय क्षति भएको बताए। संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसंगीतमा भविष्य देखाउने र काठमाडौंसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताए।
गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रुपमा सम्झिए। संगीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताए। गायिका मिलन नेवाले उनको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताइन्।
विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान छ। आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन्।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो।







डिसी नेपाल







Facebook Comment