श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

डिसी नेपाल
१३ चैत २०८० १९:४८
72
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन्।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे। उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाए।

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे।

उनले भने, ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’ सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए। कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *