कथाः मुद्दा

खेमराज पोखरेल
२४ चैत २०८० ७:४६

‘सम्पत सर, आज मसँग कफी खान जाऊँ है’ प्रिती म्याडमको फोनलाई मैले सहर्ष स्विकार गरेको थिएँ। म अचम्ममा परेको थिएँ। साँच्चै अचम्ममा परेको थिएँ। आफैँलाई चिमोटी हेरेँ। म, म बिपनामै रहेछु।

‘आज कफी खान जाऊँ न’ भन्ने मेरा आग्रहलाई उनले कैयौँ पटक टारेकी मात्र होइनन् ‘अब आइन्दा एकलै कफी खान जाऊँ पनि नभन्नू’ भनेकी थिइन्। आज के भो अचानक आकाशबाट स्वर्णीम तारा कसरी खस्न आँट्यो होला। म भुईँमा न भाँडामा भएको थिएँ।

प्रिती म्याडमको सुन्दरताले, लोभले वा वासनाले सिंहदरवार सुवासित थियो। उनको शरीरमा टम्म मिलेको सारी, सारीको चेपबाट देखिने श्वेत कमल जस्तो नाइटो, अफिस आउँदाको स्टाइल, मिठो बोलीले फिदा नहुने कमै थिए।

सिंहदरबारभित्र राताम्मे फुल्ने राते फूल पनि फिक्का लाग्दथ्यो। उनी याने प्रिती म्याडम अब्बलमा पनि अब्बल थिइन्। उमेरमा पचपन्न काटे पनि उनलाई देखेर र्याल न काढ्ने त बिरलै हुन्थे। सँगसँगै उनको दर्बिलो चरित्रको उदाहरण दिन्थे सिंहदरबारका कर्मचारीहरू। यो अचम्मको संयोग थियो प्रितीमा।

सिंहदरवार अगाडिको तबेला रेस्टुरेन्टको एउटा सानो टेबुलको आमने सामने कुर्सीमा बसेर प्रितीले भनिन्ः ‘सम्पत सर, तपाईँको मसँग एक्लै कफी खाने धोको पनि आज पूरा भयो होइन त?’

म मुसुक्क कुटिल हाँसेँ ।

कार्यालय पछि घर पुगेको थिएँ। श्रीमतीलाई हेरेको थिएँ। म आएको चाल पाएर श्रीमती भान्साबाटै बोलेकी थिइन्ः ‘चिया खाने कि खाएरै आ‘को ?’

मलाई कालो चियाको तलतल असाध्य लागेको थियो। तर उनको बोली सुन्दा खोई किन हो कुन्नि मैले भनेको थिएँः ‘भो खान्न।’

‘आफूलाई बाहिरै खाएर आए भइहाल्यो, छोराछोरीले पनि दिक्कै लाइसके। बिहान ग‘का अहिलेसम्म अन्भरिने होइनन्। नचाहिँदो फ्रिडम दिएको छ, भइहाल्यो। यहाँ मोटर बिग्रेको कति दिन भइसक्यो, पानी तान्न पाएको छैन। बनाउन मिस्त्री पनि बोलाएको होइन। यो गौँथली पनि आजै आइन। घरव्यवहार कसरी चलेको छ, केही मतलब छैन। सधैं अफिस अफिस भन्यो, यहाँ घरको कामको के मतलब?’

श्रीमतीका कुराले मन नै एकतमासको भयो। केही भनिनँ। म चुप लागेको देखेर श्रीमतीले नै भनिन्ः ‘चुप लागेर बसेर हुन्छ? कस्तो कप्टी मान्छे होला?, केही त बोल्नू?’
म फेरि पनि केही बोलिन। उनी फतफताउँदै घर बाहिर निस्किन्।

म कल्पना गर्न थालेँ। कस्ती होली मेरी स्वास्नी, कति कराउन सकेकी होली? प्रितीलाई सम्झेँ। उनले दिनभरि अफिसको काम गरेरै भए पनि घरव्यवहार स्याहारेकै छिन्, छोराछोरी हुर्काएकै छिन्। श्रीमानको गुनासो गरेको थाहा छैन। राम्री पनि कति राम्री। आफ्नी त खोई के भनूँ, टिङ्रिङे, न बोल्नको सोमत छ न बान्की नै मिलेको छ। दिनभरि प्रिती र मेरी श्रीमतीको तुलना गरिरहेँ । मनभित्र एउटा हल्का तनाब भइरह्यो।
०००००

तबेला रेस्टुरेन्टको सोफामा हामी दुई कफी खान बसेका थियौँ। प्रिती अलि नजिकै लगभग टाँसिएरै बसेकी थिइन्। मलाई अचम्म र मजा एकैपल्ट आइरहेको थियो। उनले नजानिदो पाराले आफ्नो खुट्टा मेरो खुट्टासँग जोडिन्। मेरो तिघ्रामा हात राखिन्।

मैले पनि नजानिदो गरी उनको शरीर छुन थालेँ। उनको तिघ्रामा हात राखेँ। उनले कुनै विरोध गरिनन्। मलाई लाग्न थाल्यो अब प्रिती साँच्चै पग्लिन थालेकी छिन्। म पनि एक पत्नीवाला मान्छे त थिइनँ। म प्रितीको शरीर भोग्न पाउने लालसाले मोहित भएको थिएँ।

टेबुलभरि खानेकरा थिए। खाँदै प्रितीले भनिन्ः ‘बोर भो सम्पतजी, खोई किन मलाई बोर लागिरहेको छ। भोलि अफिसमा क्यावि लिएर मुभी हेर्न जाऊँ है?’
म के खोज्छस् कानो आँखा भएको थिएँ। हतार हतार भनेँः ‘हुन्छ नि किन नहुनू?’

०००००

सिटी सिनेमा हलको पछाडिको सिटमा प्रिती र म बसेका थियौँ। उनी मसँग टाँसिइन। मैले उनलाई अँगालो मारेँ। मुभीहल भित्रको अँध्यारोको हामीले भरपुर मजा लियौँ। मेरा आँखा पल्याक पुलुक हेर्दै थिए। म सोच्दै पनि थिएँ ‘कोही चिनेकाले देखे भने?’ तर उनी अलमस्त थिइन्। उनी यसरी प्रस्तुत हुन्थिन् मानौ उनी र म साँच्चै लोग्ने स्वास्नी हौं।

मुभीहलमा कफी खाने क्रममा उनले भनिन्ः ‘सम्पत सर, हामी यति अगाडि बढी सक्यौँ, नाइट हल्टेज गर्न त मिल्दैन, तर एकदिन नगरकोट जाऊँ, दस बजे जाऊँ, पाँच बजे फर्कौँला, रमाइलो गरौला हुन्न?’

मलाई भगवानले ‘छप्पर फाड्के’ दिइरहेका थिए। मैले हतार हतार भनिहालेँः ‘किन नहुनु प्रिती म्याडम? आखिर यो संसारमा सत्य भनेकै लोग्नेमान्छे र स्वास्नी मान्छे हो, यी दुबैले मिलेर गर्ने यौन कर्मले सन्तान उत्पादन मात्र गर्दैन, रमाइलो को सूत्र पनि निर्माण गर्छ।’

‘ठिक भन्नु भो सम्पत सर, संसारलाई बिभिन्न कोणबाट अनुभूत गर्नु पर्छ, अहिले हेर्नुस् त हामी एक अर्कालाई देखेर सम्मोहित भएका छौं। कविहरूले यी नै लोग्नेमान्छे र स्वास्नीमान्छेका सम्बन्धहरूलाई प्रेम रस, श्रृङ्गार रस, यौन रस, संयोगान्त, वियोगान्त काव्यहरू निर्माण गरेका छन्। यो भोगाइ शास्वत कुरा हो। धर्ममा पनि शास्वत कुरा

शिव लिंग र योनिलाई नै संसार निर्माणको कारण मानिएको छ।’

मैले हतार हतार उनलाई सोधेँथेँः ‘कहिले जाने नगरकोट?’

उनले एकदम संयमित भएर भनेकी थिइन्ः ‘म तय गर्छु, एकदिन बिदा लिउँला नि।’

०००००

नगरकोटको ‘ह्याप्पी इम्पायर’ होटलमा प्रिती र म पुग्दा बिहानको ११ बजेको थियो। कोठा पनि उनैले बुक गरेकी थिइन्। सबै ठाउँको पैसा उनी नै तिरिरहेकी थिइन्। मैले तिर्न खोज्दा उनी भन्थिन्ः ‘आज मेरो खानुस्, अर्कोपल्ट तपाईँको। तपाईँले पैसा तिरेर ल्याइएकी नगरबधु त म होइन नि। म आफ्ना मर्जीले रमाइलो गर्न आएकी हुँ। बरु यसरी बुझ्नुस् मैले तपाईँलाई जिगोलो ल्याएकी हुँ।’

होटलको कोठा नियालेँ। निकै राम्रो कोठा। उत्तरतर्फको झ्यालबाट हिमाल हाँसिरहेको थियो। झ्याल बाहिर गुलाबका फूलहरूका वासनाले उन्मत्तता थप्थ्यो। पूर्वपट्टिको झ्यालबाट होटलको कम्पाउन्ड देखिन्थ्यो। को आयो को गयो कोठाबाटै देखिन्थ्यो। सफा र स्निग्ध थियो कोठा। एट्याच्ड बाथरुम पनि निकै आधुनिक थियो। भोक लागेको थियो। प्रितीले मगाएको खाना आएको थियो। हामीले निकै रसिला कुरा गरी गरी खाना खायौँ। प्रिती घरिघरि होटलको पल्लो कोठातिर हेरिरहेकी थिइन्। घरि होटलको कम्पाउन्डमा हेर्थिन्। घरि आफ्नै घडी हेर्थिन् । मैले प्रितीलाई सोधेकोथेँः ‘किन घरिघरि बाहिर हेर्नुहुन्छ प्रितीजी?’

उनले उत्तर दिएकी थिइन्ः ‘हेर्नु न, बाहिर कति मिठो वातावरण छ, फेरि कोही चिनेको आइहाल्यो भने सतर्क हुन परेन?’

हामीले खाना खाएपछि एकछिन आराम गर्यौँ। त्यसपछि उनले भनिन्ः ‘सम्पत सर, यसो हिमालको हावा खाऊँ, बाहिर जाऊँ।’

उनले मेरो हात समाएकी थिइन्। लगभग हामी टाँसिएर हिँडिरहेका थियौँ। धेरै जोडीहरू त्यसैगरी जोडिएरै हिँडिरहेका थिए। होटलकै प्राङ्गणमा एउटा कालो कार आएर रोकिएको थियो। एक जोडी कारबाट झर्दै थिए कि प्रितीले मलाई च्याप्प समाइन र ओठमा म्वाईँ खाइरहिन्। हामीले एकछिन सम्म एकअर्काको ओठ चुसिरह्यौँ। हतार हतार उनले मलाई भनिन्ः ‘म अधैर्य भइसकेँ सम्पत सर, अब जाऔँ कोठातर्फ।’

कोठामा पुगेर उनी नाङ्गिन थालिन्। म पनि नाङ्गिन थालेँ। हामी सम्भोगरत भयौँ। सम्भोगकै क्रममा प्रिती स्वाँ स्वाँ गर्दै भन्दै थिइन्ः ‘लु खा लोग्ने मान्छे, तँलाई चोखो चाहिने। आफ्नो जति जहाँ बिगारे पनि पवित्र हुने। लु खा।’

उनको कुरा मैले बुझेकै थिइन। किन उनी यसो भनिरहेकी थिइन् कुन्नि। तर पनि हामीले पूर्ण सन्तुष्टि प्राप्त गर्यौं। त्यसपछि हामी कोठा बाहिर निस्क्यौं। यसबेला प्रितीले मेरो हात समाइरहेकी थिइन्। त्यही होटलकै अर्को कोठाबाट प्रितीको श्रीमान् फुत्त बाहिर निस्के। साथमा एउटी सुन्दरी पनि निस्किन्। प्रितीले आफ्नो श्रीमान्लाई ‘ए हजुर पनि यता’ भनिन् र मसँग परिचय गराइन्ः ‘उहाँ सम्पत बजगाईँ, वन मन्त्रालयको उपसचिब। हाम्रो एउटा तिन दिने सरकारी कार्यशाला गोष्ठी हुँदै छ, त्यसको फिजिबिलिटी स्टडी गर्न आएका। यो होटल ठिक रहेछ।’

उनका श्रीमान् केही बोलेनन्। अलि रिसाएका देखिन्थे।

प्रिती र म बाटो लाग्यौँ ।

०००००

काठमाडौँ जिल्ला अदालतको यो भव्य भवनमा योभन्दा पहिले कहिल्यै पसेको थिइनँ। कालाकोटहरू सल्याङ् वल्याङ् गरिरहेका थिए। दौरा सुरुवाललाई कालो कोटले छोपेका, भादगाउँले टोपी लगाएका भव्य व्यक्तित्व न्यायाधीश विराजमान हुँदा च्याम्बरका सबै उठे। अदालती कारवाही सुरु भयो। प्रितीका श्रीमान्ले सम्बन्ध विच्छेद गरिपाऊँ भनी हालेको मुद्दाको छिनोफानो हुने दिन थियो।

बहस पैरबी पछि न्यायाधीशले प्रितीलाई सोधेः ‘तपाईँ प्रिती सिङ्खडा हो’

‘हजुर, हो, म प्रिती सिंखडा हुँ’

‘तपाईँलाई थाहा छ, तपाईँसँग सम्बन्ध विच्छेद गर्न तपाईँका श्रीमान श्रीधर सिंखडाले नालिस दिनुभएको छ ?’

‘थाहा छ हजुर, यसै अदालतको प्रकृयामा आएपछि थाहा पाएकी हुँ’

‘सम्बन्ध विच्छेद गर्ने कुरामा तपाईँको के मनसाय छ ?’

‘म सम्वन्ध विच्छेद गर्ने पक्षमा छुइनँ श्रीमान्, मलाई थाहा पनि छ, र मसँग प्रमाण पनि छ कि मेरो श्रीमान् श्रीधर सिंखडा बहुस्त्रीगामी हुनुहुन्छ, चारित्रिक रूपले खराव हुनुहुन्छ, पारिवारिक दायित्व बोक्नु हुन्न, तर पनि मेरो परिवार छ, छोरा छोरी छन्, संसार छ, म सम्बन्ध विच्छेद गर्न चाहन्न’

‘तर तपाईँका श्रीमान् श्रीधर सिंखडाले त तपाईँ परपुरुषगामी भनी सम्बन्ध विच्छेद गरिपाऊँ भनी नालिस दिनु भएको छ प्रितीजी ।’

‘यो सरासर झुटो हो श्रीमान्, कपोलकल्पित हो।’

‘तपाईँलाई सम्पत बजगाइँसँग शारीरिक सम्बन्ध भएको आरोप लगाइएको छ’

‘झुटो हो श्रीमान्, यो कुरा सम्पतजीसँग नै बुझियोस्’

मेरो बयान दिने पालो आयो। म थरथर कामिरहेको थिएँ। मलाई वकिलले जे सिकाएका थिए त्यही भन्नु थियो।
वकिलले सिकाए अनुसार म भन्न थालेँः

‘म सम्पत बजगाईँ, वन मन्त्रालयको उपसचिव। प्रितीजी रक्षा मन्त्रालयको उपसचिव। कार्यालयको काम विशेषले हाम्रो भेट भएको हो। चिनाजानी भएको हो। दुई चार कप कफी हामीले सँगै खाएका छौं। त्यसबाहेक हामी बिच अरू कुनै खाले सम्बन्ध छैन’

न्यायाधीशले पुनः सोधेः ‘तपाईँ सम्पत बजगाईँ र प्रतिवादी प्रिती सिंखडा बिच शारीरिक सम्पर्क भएको हो होइन? स्पष्ट भन्नुहोस्’

‘त्यस्तो अबान्छित सम्बन्ध हामी बिच भएको छैन श्रीमान्, जाँचपडताल होस्, झुटा ठहरे म सजाय भोग्न तयार छु’

न्यायाधीश एकछिन चुप लागे र प्रितीलाई भनेः ‘तपाईँ प्रतिवादी श्रीमती प्रिती सिंखडा, तपाईँले नै बहुस्त्रीगामी भनेर प्रमाण पुर्याएर आरोप लगाउनु भएका तपाईँका श्रीमान् श्रीधर सिंखडासँगै बस्न चाहनु हुन्छ?’

‘हो श्रीमान्, म मेरा श्रीमान्लाई उहाँका नराम्रा कामका लागि माफी दिन्छु। उहाँ सच्चिनु हुन्छ, मलाई विश्वास छ।’

न्यायाधीशले मिसिलमा कलम चोबेः ‘वादी श्रीधर सिंखडाको पक्ष र प्रतिवादी प्रिती सिंखडा पक्षको बयानअनुसार सम्वन्ध विच्छेद गर्नु नपर्ने ठहर भयो’।

अदालतबाट घर आउन खोजेँ। प्रिती म्याडमले मलाई भनिन्ः ‘भाउजूलाई घर पठाइदिनुस्। तपाईँसँग काम छ’

अदालतबाट सबै काम सकेर प्रिती र म सोझै तबेला रेस्टुरेन्ट पुग्यौं। उनले कफी मगाइन्। उनी जितेजस्तो हारेजस्तो गर्दै थिइन्। मैले मजाकिलो पाराले भनेँः ‘प्रितीजी अझै मजा हुन्थ्यो, किन तपाईँले तपाईँको त्यो लोग्नेलाई डिभोर्स नगरेको ? मैले त कुरै बुझिन’

प्रिती एकाएक भाबुक भइन् र भनिन्ः ‘बुझ्नु भो सम्पत सर, नगरकोटमा कालो कारबाट ओर्लने मेरा श्रीमान्ले मलाई त्यतिबेलै देखेका थिए। म तपाईँसँग आलिङ्गनबद्ध भएको पनि देखेका थिए। हामी सम्भोगरत रहँदा ऊ घरिघरी हाम्रै कोठा तर्फ चियाइरहेको थियो’

‘त्यो त मैले बुझेँ। किन डिभोर्स नगरेको त्यो चाहिँ बुझिनँ !’

प्रितीले अलि जिते जस्तो गरेर भनिन्ः ‘अब उसले आफ्नै आँखाले आफ्नी श्रीमती अर्कोसँग सुतेको देखेको पीडा बोकेर बाँच्नु पर्छ। समाजले उसलाई गिज्याउँछ। समाजले उसलाई भन्छ कि यो अर्कासँग सुतेकी स्वास्नीसँग बसेको छ, नकच्चरो, नामर्द आदि आदि। डिभोर्स दे’को भए त ऊ त्यो पीडाबाट मुक्त हुन्थ्यो। अर्की बिहे गरेर मस्ती गथ्र्यो।’

मैले अचम्म मानेर सोधेँः ‘त्यो पीडा त तपाईँलाई पनि हुन्छ नि’

उनको उत्तर थियोः ‘हो, समाजले मलाई पनि भन्ला, मुख थुन्न सकिन्न। मेरा सामुन्नेमा कसैले भन्यो भने दुई थप्पड दिन्छु। किनकि मसँग अदालतको फैसला छ। जसले भन्छ म त्यसलाई कानुनी कठघरामा उभ्याउने छु’

म प्रितीको यो कुराबाट रमाइलो अनुभब गर्दै थिएँ। उनले कुरा अघि बढाइन्ः

‘बुझ्नु भो सम्पत सर, मैले तपाईँलाई एकथोक ढाँटेकी छु।’

‘के ढाँट्नु भयो र प्रितीजी?’

‘त्यो दिन, त्यो समय मेरो श्रीमान् त्यो होटलमा केटी लिएर जान्छ भन्ने थाहा थियो। र म उसलाई देखाउन नै त्यो होटलमा गएकी थिएँ’

‘व्यर्थमा तपाईँले मुद्दा खेप्नु पर्यो नि’ मैले भनेथेँ।

उनले उत्तर दिन थालिन्ः ‘त्यो व्यर्थ होइन। तपाईँलाई एकथोक सोधौँ है, स्वास्नी अर्कासँग सुत्दा लोग्नेलाई कस्तो पीडा हुन्छ सम्पत सर? त्यो आज मेरो लोग्नेले चाल पाएको छ। हो त्यस्तै पीडा हुन्छ हामी स्वास्नी मान्छेलाई पनि आफ्नो लोग्ने अन्त लाग्दा। अब तपाईँसँगको मेरो काम सकियो। तपाईँको बाटो अलग, मेरो बाटो अलग। मैले तपाईँलाई ‘युज’ गरेँ। तपाईँ पनि कुन ड्याङको मुला हो र! श्रीमतीलाई घरमा थन्क्याएर बाहिर चाहार्ने मान्छे त हो नि। होइन त सम्पत सर?’

म अवाक भएर सोझै घर हानिएँ। घरमा पुगेपछि सोफामा पल्टिएँ। मेरी श्रीमतीले छेवैमा आएर भनिन्ः ‘त्यसै बिनाबित्थामा हजुरलाई आरोप लगाएर मरेका है तिनीहरूले’। हाम्रा सबै मुद्दा सकिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *