एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै
काठमाडौं। नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुनेछ।
नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ। प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ।
यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुने छ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment