सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु

डिसी नेपाल
४ वैशाख २०८१ २१:३३
8
Shares

सल्लेरी। सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ। जिल्लाको लिखुपिके गाउँपालिका–१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो।

याक तथा चौँरी व्यवसायी संघले आयोजना गरेको उक्त महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ। चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी संघको वेबसाइट सञ्चालन, याक तथा चौँरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौँरी व्यवसायी संघका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले बताए।

उनले भने, ‘चौँरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेशा हो। तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौँरीपालन घट्दो क्रममा छ। यसलाई बचाउन महोत्सवले केही टेवा पुग्ने विश्वास छ।”

पिके क्षेत्रको पर्यटन प्रवर्द्धन र गाउँमै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने उद्देश्यले चौँरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। पिके क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यर्ज्याङ अर्थात कुलपूजा गर्छन्। उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्छन्। त्यसकारण पिके क्षेत्र पर्यटकीय मात्र नभएर धार्मिक रूपमा पनि महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *