भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

डिसी नेपाल
१२ वैशाख २०८१ २१:४४
12
Shares

टक्सार। भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ।

आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो। भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का इलारा एस डिक्काले खेलको ५ औँ मिनेटमा पहिलो गोल गरेका थिए।

यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ औँ मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले खेलको ७७ औँ मिनेटमा तेस्रो गोल गरेका थिए। प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज युनाइटेड काठमाडौंका नवीन लामा भएका छन्। उनले नगद रु पाँच हजारका साथमा मेडल पाएका छन्।

प्रतियोगिताअन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको छ भने सोमबारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मंगलबार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई  ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च व्बाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल संघले सहभागिता जनाएका छन्।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौं र खोटाङ भगवती स्पोर्ट्स क्लबबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए। फाइनल खेल यही वैशाख १५ गते हुनेछ। करिब रु ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *