जुवाडेलाई पचास हजार जरिवाना
हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ स्थित चेतनशील महिला समूहले जुवातास, क्यारेमबोर्ड र ढ्याकर खेल्ने खेलाउनेलाई कारवाहीको निर्णय गरेका छन्। उनीहरूले जुवातास खेल्ने र खेलाउनेलाई रु ५० हजार जरिवानाको व्यवस्था गरेका छन्।
क्यारेमबोर्ड र ढ्याकर खेल्ने, खेलाउनेलाई रु २० हजार जरिवाना गरिने समूहका अध्यक्ष ज्ञानीमाया मोक्तानले बताए । सो नियम वडा नं– ७ का सुकौरा, अम्बोटे, स्कुलटोल, न्यौपानेटार र पाङ्टोलमा लागू हुनेछ । समूहले जारी गरेको सार्वजनिक सूचना अनुसार जुवातास र मादक पदार्थ सेवनबाट समाजमा विकृति फैलिएको तथा महिला हिंसाका घटना हुने भएकाले समूहले पहल गरेको हो।
मकवानपुरगढी गाउँपालिकाले ५१ जनाभन्दा बढी जन्ती लैजान नपाउने ऐनमा व्यवस्था गरेको छ। गाउँपालिकाले सामाजिक व्यवहार ऐन २०७५, गाउँसभाबाट पास गरी गाउँपालिकाभित्र ऐन लागू गर्न कदम चालेको छ।
विद्यालयका प्रधानाध्यापक, टोलविकास समितिका अध्यक्ष, सञ्चारकर्मी, सहकारी सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिलगायत राखेर ऐनबारे छलफल गरिएको वडा नं ५ का वडाध्यक्ष जीतबहादुर घिमिरेले बताए ।
चौथो गाउँसभाबाट पारित गरी गाउँपालिकाभित्र लागू गर्नेगरी ऐन तयार पारेर कार्यान्वयनतर्फ लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए। मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँइका अनुसार बालविवाह, महिला हिंसा, बलात्कारलगायत घटनालाई अन्त्य गर्न सो ऐन ल्याइएको हो। भदौदेखि ऐन सबै वडामा लागू हुनेछ।
गाउँपालिकाले जारी गरेको ऐनमा विवाहमा दाइजो लिन दिन नपाइने, विवाह समारोहमा सहभागी हुँदा रु एक हजारभन्दा बढीको जिन्सी वा नगद लिनुदिनु नहुने उल्लेख छ।
जुनसुकै कामका लागि महिला र पुरुषलाई ज्याला समान दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै मनहरि गाउँपालिकाले समेत सामाजिक व्यवहार सुधार ऐन जारी गरेको छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment