बाढीका कारण आन्ध्रा प्रदेशमा ७० हजार नागरिक प्रभावित
अमरावती । भारतको आन्ध्रा प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन्।
उक्त क्षेत्रमा बसोबास गर्ने १७ हजार ६३२ जना बाढीका कारण पूर्णरूपमा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा शिविर खडा गरी राखिएको छ।
गत हप्ताको अन्त्यमा आएको बाढीपछि समयमै उद्धार टोलीहरूको सहयोगमा भएका प्रयासका कारण कसैको मृत्यु भने नभएको बाढीग्रस्त क्षेत्रबाट सम्प्रेषित खबरबाट थाहा हुन आएको छ।
आन्ध्रा प्रदेशको विपद् व्यवस्थापन अधिकारीले दिएको जानकारी अनुसार बाढीका कारण उक्त क्षेत्रका दुई जिल्लामा विद्युतीय सेवा अवरूद्ध बनेको छ भने विभिन्न वस्तीहरूलाई जोड्ने सडक सञ्जाल भत्केका र यातायातमा समस्या भएको छ।
बाढीका कारण गोदावरी जिल्लाको पश्चिम तथा पूर्वका करीब २८० वस्तीहरू प्रभावित बनेका बताइएको छ। रासस/एएफपी
No ads found for this position



डिसी नेपाल
Facebook Comment