हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

डिसी नेपाल
२१ वैशाख २०८१ ८:२९
16
Shares

वासिङ्टन, डिसी। यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।

“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भने। मूर्ति लिन उनलाई हवाइ पठाइएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । ।

यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *