प्रचार–प्रसारका लागि हात्ती सुँडे गुफामा अजिरकोट गाउँ कार्यपालिकाको बैठक बस्ने

डिसी नेपाल
२१ वैशाख २०८१ २३:३८
20
Shares

गोरखा। गोरखा अजिरकोट गाउँ कार्यपालिकाको एक सय १५औँ बैठक हात्ती सुँडे गुफामा बस्ने भएको छ। अजिरकोट गाउँपालिका–५ मुच्चोकस्थित साउने गाउँमा रहेको पुरातात्विक महत्व बोकेको हात्ती सुँडे गुफाको प्रचारप्रसार, संरक्षण र संवद्र्धनका लागि गुफामा शनिबार कार्यपालिकाको बैठक बस्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिइन्।

‘कार्यपालिकाका सबै सदस्यलाई गुफाका बारेमा जानकारी दिन र अध्ययन अवलोकनको अवसरसँगै बैठकको माध्यमबाट गुफाको व्यापक प्रचारप्रसार गर्नका लागि गाउँ कार्यपालिकाको बैठक पनि गुफामा बस्न लागिएको हो’, उनले भने, ‘यसबाट पुरातात्विक महत्व बोकेको हात्ती सुँडे गुफालाई परिचित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।’

पालिकाभित्रका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसारका लागि अजिरकोट गाउँपालिकाले विभिन्न रणनीति अपनाउँदै आएको छ। जसअन्तर्गत हात्ती सुँडे गुफामा गाउँ कार्यपालिकाको बैठक गरेर गुफाको प्रचार गर्न लागिएको उपाध्यक्ष भुजेलको भनाइ छ।

हात्ती सुँडे गुफा विसं २०६० कात्तिकमा लक्ष्मीपूजाका दिन पत्ता लागेको हो। स्थानीय बाबुराम देवकोटा र शैलेन्द्र गुरुङले ओडार देखेपछि भित्र छिर्दै जाँदा साउने गाउँमा आकर्षक गुफा पत्ता लागेको स्थानीयको भनाइ छ। ‘अन्यत्त्र रहेका गुफाहरुभन्दा फरक चित्राकृति रहेको उक्त गुफामा दुई तला रहेको छ, बाहिरबाट गुफा प्रवेश गरेपछि तल्लो तलाबाट चढेर माथिबाटै निस्कन मिल्ने खालको छ,’ उनले भने।

गुफाको पर्याप्त प्रचार गर्न सके अजिरकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले विश्वास लिएको छ। अजिरकोट गाउँपालिकाले हात्ती सुँडेको गुफालाई स्थानीय पाठ्यक्रममा समेत समेटेको छ। पर्यकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त गुफा संरक्षण र संवद्र्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *