मानव बेचबिखनमा संलग्न महिला पक्राउ

डिसी नेपाल
७ जेठ २०८१ २३:२६
60
Shares

काठमाडौं। विवाहको बहाना बनाएर चीन पुर्‍याइ मानव बेचबिखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचबिखन गरेको खुल्न आएको जानकारी दिए।

‘पक्राउ परेकी घलेले चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौं लगेर ललाई फकाई ‘कोर्ट म्यारिज’ गरिदिएको अनुसन्धानमा खुल्न आएको छ,’ उनले भने। विवाह गरी चीनमा पुर्‍याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जबरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिलाले रु पाँच लाख लिएर बेचबिखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले बताए। काठमाडौंको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *