मिथिलामा राखी पर्वको रौनक

डिसी नेपाल
२१ साउन २०७६ ११:२८

बर्दिवास । साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल ह्वात्तै बढेको छ । जनजन परिचालन भएर साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले राखी पर्वको रमझम बढेको हो। मिथिलाका फुटपाथे पसल होउन् वा पान पसल । ठूल्ठूला व्यापारिक प्रष्ठिान होउन् कि चलचित्र घर ।

सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका छन् । चारैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ। मिथिलामा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जिरहेको छ।

प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् ।बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै राखीको तयारीसँग सम्बन्धित हुने गरेका छन्।

“दाजुभाइ को–कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, महोत्तरीको भङ्गाहा नगरपालिका–५ सीतापुरबजारमा भेटिएकी सुरीता महतोले भने, “म त रमाइलो मनाउन माइत आइसकेँ ।” भङ्गाहा–४ मा माइतीघर भएकी महतोले भारतको मद्रासमा रहेको भाइलाइ पर्वमा आउन निम्ता गरिसकेको जानकारी दिए । विवाह भएर गएका चेली (दिदीबहिनी) हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् रु पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन व्यस्त छन्।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लिन रहेका देखिँदो छ। साउन शुक्लपक्ष शुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न बर्दिवासबजार पुगेकी भङ्गाहा–४ नै माइती भएकी शैल साह बताउँछन् ।

यही आउने साउन ३० गते बिहीबारका दिन मनाइने यो पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ। मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् ।

साउन शुक्लपक्ष शुरु भएयता बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल ह्वात्तै बढेको बर्दिवासस्थित जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी बताउँछन् । साउन शुक्लपक्ष शुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमा घरहरुले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोक–चोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सद मिलाउन लागेका देखिँदो छ । घरबाट काम विशेषले टाढा–टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् । “भैया पञ्जाब स राखी पावैन के लेल ऐवाक् निश्चित भेल” (दाजु राखी पर्वका लागि पञ्जाबबाट आउने कुरा निश्चित भयो) महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी १७ वर्षीया किशोरी रामसखी ठाकुरले खुशी व्यक्त गर्दै भने, “आब राखी के जोगार मे लगैछि” (अब राम्रो राखी किन्ने छु)।

पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोवार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ । पर्वका लागि अब केही दिन मात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुरबजारमा राखी बिक्री गर्दै आएका रामप्रताप साहले बताए ।

अघि सत्ययुगमा तीनै लोक ९स्वर्ग, मत्र्य र पाताल०को अधिपति रहेका दानवराज बलीलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन ९रक्षाकवच० बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ।

पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको शिक्षा क्षेत्रमा उपसचिव पदमा रही लामो सरकारी सेवाबाट अवकाश लिनुभएका जिल्लाकै जलेश्वर नगरपालिकाको सुगाभवानीपट्टीका ८३ वर्षीय कृष्णचन्द्र झाले बताए।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ।

पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफुले दाजुभाइ मानेकाहरुलाई राखी बाँधिदिन पर्वको तयारीमा लागिपरेको देखिएको छ। पछिल्ला दिनहरुमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीयपक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको महोत्तरीकै रामगोपालपुर नगरपालिकाको बिसबिट्टी बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी ४५ वर्षीय कादिर हुसैन बताउँछन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *