एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता : नेपालको पहिलो जित

डिसी नेपाल
९ जेठ २०८१ २३:३२
8
Shares

काठमाडौं। नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ। चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो। यसअघि नेपाल श्रीलंका र पाकिस्तानसँग पराजित भएको थियो। यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो सिंगल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे। डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए।

नेपाल टेनिस संघद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३–० ले पन्छाए। योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ।

यसैगरी छात्रामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्‍यो। सिंगल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलंकाकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए। डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए। नेपालको यो लगातार तेस्रो हार हो। यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *