गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन: सञ्चारमन्त्री शर्मा

डिसी नेपाल
१० जेठ २०८१ १९:२३
20
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रात्मक शासन व्यवस्थामा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छन्। गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री शर्माले जतिसुकै माथिल्लो ओहदाको व्यक्ति भए पनि संविधान र कानुनको दृष्टिमा सबै समान हुने भएकाले सरकारले त्यसैअनुसार कानुन कार्यान्वयन गरिरहेको स्पष्ट गरिन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुँदै गर्दा गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको थियो। सामाजिक न्याय, समृद्धि तथा सुशासनको पक्षमा दृढतापूर्वक काम गरेकाले व्यवस्था र परिवर्तनका पक्षमा नकारात्मक भाष्य चिर्न सरकार सफल भएको छ’, नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन्, ‘सूचना र सञ्चारका क्षेत्रमा पनि हामी गुणात्मक उपलब्धि हासिल गर्न सफल भएका छौँ।’

मुलुकले पूर्वाधार विकासमा फड्को मार्दै गएको र अभ्यासका क्रममा कुनै कमी कमजोरी भएमा दोषीको भागिदार सम्बन्धित व्यक्ति हुने तर गणतन्त्रात्मक व्यवस्था भने नहुने स्पष्ट गर्दै उनले व्यवस्थालाई सबल बनाउने सवालमा जनताबाट आउने खबरदारीलाई सरकारले ग्रहण गर्ने बताइन्।

गणतन्त्र स्थापनापछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको तथ्यलाई प्रचारप्रसार गरी नयाँ पुस्तामा सकारात्मक भाव प्रवाह गर्नुपर्ने खाँचो औंल्याउँदै मन्त्री शर्माले राससले गणतन्त्र दिवसको सन्दर्भ पारी तस्बिर प्रदर्शनी गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *