म्याग्दीमा सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो प्रतिस्पर्धा

डिसी नेपाल
१६ जेठ २०८१ १४:३२
160
Shares

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ। भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिंगोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ।

मंगलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ। प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए।

‘‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिंगो  जुधाउने प्रतियोगिता हुन्छ,’’– उनले भने।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझिगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन्। मंगलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापतकाले सिगारिएका अग्ला बाँसको लिंगो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिंगो ठडाएर प्रतिस्पर्धा गराएका थिए।

पुख्र्यौलीनाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवकाबीच मङ्गलबार बिहान भूमे देवताको पूजागरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिंगो जुधाएका हुन्। प्रतियोगितामा अग्ला–अग्ला सिगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ।

दग्नामको भूमे पूजालाई लिङ्गो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाअध्यक्ष पबिन गर्बुजाले बताए।

‘‘भूमे पूजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरी मनाउँदै आएका छौं, यसमा लिङ्गो जुधाइ सबैको लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’’– उनले भने।

दुई गाउँले लिङ्गो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् । बाँसको लिंगो स्थानीय दग्नाम वरपरसँगै छिमेकीगाउँ राखुबाटसमेत लैजाने गरिन्छ। स्थानीयले लिङ्गो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन्।

भूमे पूजामा लिंगो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन्। यस पटकको लिंगो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए।

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन पूजा गर्ने चलन छ । खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ।

भूमे पूजाको अवसरमा स्थानीय एकता युवा क्लबले सांस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ । यसवर्ष दग्नाममा पूख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *