प्रदेश नं २ : प्रदेशसभा बैठकद्वारा लोकसेवा विधेयक पारित

डिसी नेपाल
२१ साउन २०७६ २२:५३

काठमाडौं । प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ। प्रदेश नं २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो।

बैठकमा टेबल भएको झण्डै अढाइ महीनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो। यो विधेयक गत जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको थियो भने आज बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ।

यो विधेयक पारित भएसँगै अब प्रदेश नं २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ। प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो।

सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए। समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए।

आजको प्रदेशसभा बैठकमा उनले साउनमा मात्रै पाँच पटक बैठक बसेको र आज बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए।

यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गर्नुभएको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि पनि आज सैद्धान्तिक छलफल भएको छ।

छलफलमा भाग लिँदै नेकपाका सांसद गोविन्द न्यौपाने र काङ्ग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्याउनु जरुरी रहेको बताए।

मन्त्री साहले सीप नसिकी हजारौँ युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा स्थापना गरेर उनीहरुलाई विभिन्न किसिमको तालीम दिन र आफैँ रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *