काठमाडौं उपत्यकामा आज झन् गर्मी बढ्ने
काठमाडौं। हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। यद्यपि तापक्रम उच्च नै रहने छ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ। शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ।
यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ।
आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment