अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

डिसी नेपाल
४ असार २०८१ १०:२२
148
Shares

काठमाडौं। वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार बिहान सम्पन्न जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुँदै ११४ रन मात्र बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए। त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्बाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले २-२ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै ९८ रन बनाएका थिए। त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए।

यो जितपछि समूह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ।

अब जारी विश्वकपमा सुपर आठका खेलहरु हुने छन्। सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्। अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन्।

अब सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.