‘पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ’
काठमाडौं। नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाडी कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन्।
उनले पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्ने बताउँदै पार्टी नेतृत्वमा सहमति भइदियोस् भन्ने कार्यकर्ताको चाहना रहेको पनि स्पष्ट गरे। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय विदेश विभागको बैठकमा उनले त्यस्तो बताएका हुन्।
बैठकले दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभागका सचिव डा शंकर खतिवडालाई प्रतिनिधिमा पठाउने निर्णय गरेको छ। विभागको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महाधिवेशन प्रतिनिधिमा उहाँलाई सर्वसम्मतिबाट चयन गरिएको हो।
यही असार १६–२० गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा करिब एक हजार आठ सय ५० प्रतिनिधि चयन गरिने तथा केही मनोनयन गरिने र पर्यवेक्षकसमेत चुनिने बताइएको छ। देशभर बुधबार सबै महाधिवेशन प्रतिनिधि एकै पटक चुनिने छन्।
बैठकले गरेको निर्णय अन्तरपार्टी निर्देशनले निर्देश गरेबमोजिम बुधबार संगठन विभागलाई बुझाइने विभाग सचिव डा खतिवडाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment