पहिरो र बाढीका कारण म्याग्दी, गोरखा तथा सुर्खेतका राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढी आउँदा सडक अवरुद्ध बनेका हुन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। उक्त स्थानमा असोज १ गते बिहान ५:५० बजेदेखि नै यातायात आवागमन प्रभावित हुँदै आएको छ।
त्यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक ठप्प भएको छ। सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडक आज बिहान ५:३० बजेदेखि ठप्प बनेको हो।
यता सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ। कात्तिक १ गते बिहान ५:४५ बजेदेखि सो क्षेत्रको यातायात प्रभावित बनेको छ। हाल प्रहरी तथा सम्बन्धित निकायले अवरुद्ध सडक पन्छाएर यातायात सेवा सहज बनाउने प्रयास गरिरहेका छन्। जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment