दशैंमा यात्रुलाई राहत: सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकामा चलायो निःशुल्क बस सेवा
काठमाडौं। बडादसैँका अवसरमा सर्वसाधारण यात्रुहरूलाई आवतजावतमा सहजता पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
चाडपर्वका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातका साधनहरू निकै कम चल्ने र यात्रुहरूले सास्ती भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।
सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने उक्त निःशुल्क बस सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले बताए।
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। त्यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
सशस्त्र प्रहरीको यस कदमले दसैँको समयमा टीका तथा आशीर्वाद थाप्न र आफन्तकहाँ आवतजावत गर्न निस्कने सर्वसाधारणलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment