पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध तोड्यो, राजदूत पनि फिर्ता पठाउने
इस्लामावाद (एजेन्सी) । भारतले जम्मू कश्मीरलाई विशेष दर्जा दिने व्यवस्था खारेज गरेपछि पाकिस्तानले कडा कदम उठाएको छ । अन्तर्राष्ट्रियरुपमा विवादास्पद रहेको जम्मू कश्मीरबारे भारतले एकतर्फीरुपमा घोषणा गरेपछि पाकिस्तानले भारतसँगको व्यापारिक सम्झौता खारेज गरेको हो।
भारतीय संविधानअनुसार जम्मू कश्मीरलाई दिइएको विशेषाधिकारलाई भारतले सोमबार खारेज गरेको थियो। भारतीय संविधानको धारा ३७० लाई खारेज गर्दै भारतले जम्मू कश्मीरलाई पनि विभाजन गरेर दुई केन्द्र शासित प्रदेश बनाएको छ । भारतले जम्मू कश्मीरबाट लद्दाखलाई अलग गरेर दुई केन्द्र शासित प्रदेश बनाएको हो।
भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा यो विषयमा जानकारी दिँदै पाकिस्तानको कब्जामा रहेको कश्मीरमा पनि नयाँ प्रावधान लागु हुने बताएका थिए। बुधबार भारतले देशको नयाँ नक्सासमेत सार्वजनिक गरेको छ । जसमा पाकिस्तान कब्जामा रहेको कश्मीर पनि समेटिएको छ ।
भारतले एकतर्फी रुपमा यस्तो कदम चालेपछि पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्धमा कटौती गरेको हो। पाकिस्तानी सुरक्षा समितिको बैठकपछि भारतसँगको व्यापार सम्बन्ध ताड्ने पाकिस्तानले घोषणा गरेको हो।
पाकिस्तानले इस्लामावादस्थित भारतीय राजदूतलाई पनि फिर्ता पठाउने भएको छ । यस्तै यो मामिलालाई पाकिस्तानले राष्ट्रसंघमा पुर्याउने भएको छ।
भारत र पाकिस्तानबीच लामो समयदेखि विवादित रहेको कश्मीर मामिलामा भारतले गरेको परिवर्तनले यो विषय झन उल्झिएको कतिपय विश्लेषकहरुले बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment